क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) मा कार्यवाहक अध्यक्षको अधिकार प्रयोग, संस्थागत निर्णय प्रक्रिया र निर्वाचनको विषयलाई लिएर विवाद चर्किएको छ ।

महासंघका महासचिव चन्द्रविलास भुर्तेलले कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीको कार्यशैलीप्रति असहमति जनाउँदै अब विवाद र अन्योलमा अल्झिनुभन्दा विधानसम्मत प्रक्रियाबाट यथाशीघ्र निर्वाचनमा जानुपर्ने बताएका छन् ।

निर्वाचित अध्यक्षको राजीनामापछि वरिष्ठ उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको उल्लेख गर्दै भुर्तेलले कार्यवाहकको जिम्मेवारी नियमित काम सञ्चालन गर्नु र नयाँ नेतृत्व चयनका लागि निर्वाचनको वातावरण निर्माण गर्नु रहेको बताएका छन् ।

तर कार्यवाहक अध्यक्षबाट केन्द्रीय कार्यसमितिको सामूहिक निर्णय प्रणालीलाई बेवास्ता गरी व्यक्तिगत निर्णयका आधारमा गतिविधि सञ्चालन भएको महासचिवको आरोप छ ।

महासचिवले केन्द्रीय कार्यसमितिको बैठक बोलाउने पहल नभएको, सीमित व्यक्तिको भेलालाई संस्थागत बैठकका रूपमा प्रस्तुत गरिएको, सचिवालयलाई जानकारी नदिई प्रशासनिक काम अघि बढाइएको तथा व्यक्तिगत इमेलबाट विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थासँग पत्राचार गरिएको दाबी गरेका छन् ।

त्यस्तै महासंघको लेटरहेड, छाप र दर्ता–चलानी नम्बरको अनधिकृत प्रयोग भएको र डुप्लिकेट चलानी नम्बरबाट सरकारी निकायमा पत्राचार गरिएको आरोपसमेत उनले लगाएका छन् ।

सम्मेलन आयोजना गर्ने जिम्मेवारी कार्यवाहक अध्यक्षलाई दिइएको अवस्थामा सम्मेलनसम्बन्धी प्रगति, समन्वय, पत्राचार तथा आर्थिक गतिविधिबारे सचिवालयलाई जानकारी गराउनुपर्नेमा त्यसो नभएको महासचिवको दाबी छ । सम्मेलनको मिति तय भइसकेपछि व्यक्तिगत निर्णयका आधारमा स्थगित गरिएको विषयले समेत संस्थागत जवाफदेहितामाथि प्रश्न उठाएको उनको भनाइ छ ।

महासचिव भुर्तेलले आफूले पटक–पटक कार्यवाहक अध्यक्षलाई केन्द्रीय कार्यसमितिको बैठक बोलाई निर्वाचनको मिति तय गर्न आग्रह गर्दै आएको बताएका छन् । यस विषयमा अध्यक्ष परिषद्का अध्यक्ष तथा संस्थापक अध्यक्षलाई समेत जानकारी गराइएको उनले बताएका छन् ।

उनले कार्यवाहक पदलाई अधिकार विस्तार वा कार्यकाल लम्ब्याउने माध्यम बनाउन नहुने स्पष्ट पारेका छन् । निर्वाचनमा अनावश्यक ढिलाइ भएमा त्यसले सदस्यहरूको लोकतान्त्रिक अधिकार र संस्थाको हितमा असर पार्ने उनको भनाइ छ ।

महासंघका आन्तरिक विषयमा सामाजिक सञ्जाल, मेसेन्जर तथा विभिन्न समूहबाट एकपक्षीय र अपुष्ट सामग्री सार्वजनिक भइरहेको भन्दै महासचिवले सदस्यहरूलाई आधिकारिक सूचना, निर्णय, अभिलेख र विधानका आधारमा मात्रै धारणा बनाउन आग्रह गरेका छन् ।

‘क्यान महासंघ कुनै व्यक्ति विशेषको निजी संस्था होइन, यो सम्पूर्ण सदस्यहरूको साझा संस्था हो’ भन्ने धारणा राख्दै भुर्तेलले संस्थाको गरिमा, सदस्यहरूको अधिकार र लोकतान्त्रिक निर्वाचन प्रक्रियाको संरक्षण सबैको साझा जिम्मेवारी भएको बताएका छन् ।

महासचिवका अनुसार विवादित गतिविधि निरन्तर रहेमा संस्थागत हित र मर्यादा संरक्षणका लागि विधान तथा प्रचलित कानुनी प्रक्रियाअनुसार आवश्यक उपचार खोज्नुपर्ने अवस्था आउन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *