भोटेकोशी बाढीपीडितका लागि पठाइएका राहत खाद्य सामग्रीको अनुगमन, मापदण्ड पूरा गर्न निर्देशन

काठमाडौं । भोटेकोशी बाढीपीडितका लागि विदेशबाट ल्याइएका तथा राहत वितरणका लागि तयार पारिएका खाद्य सामग्रीको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निरीक्षण तथा अनुगमन गरेको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २०८३/०५/२७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र राधास्वामी सत्सङ्ग, सामाखुसीमा राहतका लागि राखिएका खाद्य सामग्रीको अनुगमन गरेको हो ।

विभागका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिकेन फ्लेभर्ड नुडल्स सुप, टमाटरको पेस्ट, मैदा, चिया, मह, मसला, डेट्स, क्यानमा बन्द गरिएको बकुल्ला सिमी, टेबल नुन, खुर्पानीको पेस्ट, हेजलनट क्रिम, पास्ता, तोहिनी, जैतुनको तेलसँग ब्लेन्ड गरिएको सूर्यमुखीको रिफाइन्ड तेल, रिफाइन्ड एडिबल पाम ओलिभ तेल, चिनी, चामल र क्यानमा बन्द गरिएको काबुली चनालगायत खाद्य सामग्री राहतका लागि विदेशबाट आएको पाइएको छ ।

अनुगमनका क्रममा ती खाद्य सामग्रीको लेबलमा ब्याच नम्बर, उत्पादन तथा प्याकेजिङ गर्ने उद्योगको नाम र ठेगाना उल्लेख भएको तथा उपभोग्य मिति समाप्त नभएको पाइएको विभागले जनाएको छ । यस्तै, राहत सामग्री वितरण गर्दा असल वितरण अभ्यास (Good Distribution Practice) अपनाउन निर्देशन दिइएको छ ।

त्यसैगरी, राधास्वामी सत्सङ्ग सामाखुसीमा मुसुरो दाल, सूर्यमुखी तेल, चिउरा, गरम मसला, काश्मीरी मिर्च पाउडर, चाउचाउ, बेसार, चिनी, आयोनुन, बासमती चामल, बिस्कुट र जिरालगायत खाद्य सामग्री राहतका लागि पठाउन तयार पारिएको अवस्थामा भेटिएको थियो ।

विभागका अनुसार उक्त स्थानमा रहेका खाद्य सामग्रीको लेबलमा पनि ब्याच नम्बर, उत्पादन तथा प्याकेजिङ गर्ने उद्योगको नाम र ठेगाना उल्लेख भएको तथा उपभोग्य मिति कायम रहेको पाइएको छ । विभागले राहत खाद्य सामग्रीको वितरणमा समेत असल वितरण अभ्यास पालना गर्न निर्देशन दिएको छ ।

विभागले २०८३/०५/२७ गते गरेको अनुगमनमा राहत सामग्री राखिएका कुल दुई स्थान निरीक्षण गरिएको जनाएको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम गरिएको अनुगमनको विवरण वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माले २०८३/०५/३० मा सार्वजनिक गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *