एक दिन पनि टिकेन सेयर बजारको उत्साह, २१ अंकले घट्यो नेप्से

काठमाडौं । सेयर बजारमा देखिएको उत्साह एक दिन पनि टिकेन । अर्थमन्त्री स्वर्णिम वाग्लेले पुँजी बजार उकास्ने भन्दै सोमबार राति सार्वजनिक गरेको सुधारका प्रस्तावले पनि सेयर बजारमा खुसीको माहौल ल्याउन सकेन ।

मंगलबार ४८ अंकले नेप्से बढेको थियो भने कारोबार रकम पनि आठ अर्ब पुगेको थियो । तर बुधबार भने नेप्से २१ अंकले ओरालो लागेको छ । कारोबार रकम पनि चार अर्बमा सीमित भएको छ । १० वटा ठुला ब्रोकरको कारोबार हेर्दा सातवटाले किनेको भन्दा धेरै बेचेको देखिन्छ।

पछिल्ला तीन कारोबार दिनमा नेप्से परिसूचक १०२.०६ अंक बढेको थियो। बजार बढेको मौकामा लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा यस दिन नेप्सेमा करेक्सन भएको हो।

आज नेप्से परिसूचक २१.१९ अंक घटेर २६१२.४२ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ३.७७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३२ अंक घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ८ अर्ब २९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५० स्टकको ५५ हजार ८३१ पटकको कारोबारमा ५ अर्ब ३८ करोड ९५ लाख ७४ हजार रुपैयाँबराबरको १ करोड ५१ लाख १ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.०४ प्रतिशत घटेको छ। जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ भने निर्जीवन बीमा उपसमूहको परिसूचक करिब १ प्रतिशत घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *