तीनै तहको सरकारलाई अधिकार सम्पन्न बनाउन सकिए मात्र विकास र समृद्धि सम्भव : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानले परिकल्पना गरेको तीन तहको सरकारलाई अधिकार सम्पन्न बनाउन सकिए मात्र मुलुकको विकास र समृद्धि सम्भव रहेको बताएका छन् ।

संविधान दिवसको उपलक्ष्यमा शनिबार विराटनगरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले राजनैतिक स्थिरता, सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि राजनैतिक दल, नागरिक समाज र आम नेपाली जनता एक ठाउँमा उभिनुको विकल्प नभएको बताए ।

उनले संविधान कार्यान्वयनका क्रममा देखिएको समस्याहरुलाई विधिर्पूवक संविधान संशोधनमार्फ समाधान गर्न सकिने बताए । भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवाको गुणस्तर अभिवृद्धि तथा राज्यका सबै तह र निकायमा सुशासन कायम गर्नु प्रदेश सरकारको प्राथमिकता भएको उनको भनाइ छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिले आयोजना गरेको सो कार्यक्रममा प्रस्तुत गरिएको झाँकी र अन्य विधाका सहभागिहरुलाई नगदसहित पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रम अघि शहिद रंगशालाबाट प्रभात फेरि कार्यक्रम आयोजना गरिएको थियो । प्रभात फेरिले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।

कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजन भट्टराईसहित मन्त्रीहरु, प्रदेश सांसदहरु, प्रदेश सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु तथा कर्मचारीहरुका साथै विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *