ग्यास अभाव समाधान गर्न सरकार गम्भीर छ : उद्योगमन्त्री

काठमाडौँ। उद्योगमन्त्री दीपक कुमार साहले उपभोक्ताले भोग्नुपरेको खाना पकाउने ग्यास अभावको समस्याप्रति सरकार अत्यन्त गम्भीर रहेको बताएका छन् । साेमबारकाे प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री साहले ग्यास आपूर्तिको समस्यालाई शीघ्र सामान्य बनाउन मन्त्रालयले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिसहित काम गरिरहेको जानकारी दिए । ‘ग्यासको समस्या समाधानका लागि मन्त्रालयभित्र आन्तरिक समिति गठन गरिएको छ ।

दीर्घकालीन समस्या समाधानका लागि पूर्वाधार नीति बनाउन राष्ट्रिय योजना आयोगलाई पत्राचार गरिएको छ ,’ मन्त्री साहले भने। ग्यास अभावको मूल कारण पहिचान गर्न मन्त्रालयले प्राविधिक विश्लेषणको उपकरण ‘फिसबोन डाइग्राम’ ( प्रयोग गरेको मन्त्री साहले बताए । उक्त विश्लेषणबाट ग्यास अभाव हुनुमा कुनै एउटा मात्र कारण नभई आपूर्ति, कानुन, वितरण तथा प्रणाली, मानव संसाधन, सामाजिक र अन्तर्राष्ट्रिय पक्षलगायतका विविध कारणहरू अन्तरसम्बन्धित रहेको पाइएको छ ।

मन्त्रालयको अध्ययनअनुसार आयातमा निर्भरता, अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि, भण्डारण तथा रिफिलिङको समस्या, डिलर सेवा केन्द्रहरूको असमान वितरण र खाली सिलिण्डर भर्न हुने ढिलाइले माग र आपूर्तिमा असन्तुलन ल्याएको निष्कर्ष निकालिएको छ । यसका साथै कालोबजारी, डिजिटल ट्र्याकिङ प्रणालीको अभाव र अन्तरनिकाय समन्वयको कमीले पनि ग्यास अभावको समस्यालाई थप जटिल बनाएको मन्त्री साहले औँल्याए ।

आफूले एक ‘टेक्नो–इकोनोमिक इन्जिनियर’का रूपमा यस सङ्कटलाई ’कति सिलिण्डर ग्यास आयो’ भन्ने प्रश्नमा मात्र सीमित नराखेको उनले बताए । “ग्यास लोडिङदेखि उपभोक्ताको भान्सासम्म पुग्ने समय, रिफिलिङ क्षमता, मूल्यको समय र सिलिण्डरको पहिचान  लाई एउटै प्रणालीमा आबद्ध गरेर हेरिएको छ,“ उनले भने।

समस्यालाई तत्काल सम्बोधन गर्न मन्त्रालयले ग्यास आपूर्ति समायोजनका लागि ‘क्रिटिकल मेथड’ मा केन्द्रित रहेर विशेष कार्ययोजना बनाएको छ । ग्यास आपूर्ति प्रणालीलाई सहज बनाउन अवरुद्ध कृष्णभीर सडक खण्डको मर्मत कार्य तत्काल सम्पन्न गरी सञ्चालनमा ल्याइएको मन्त्री साहले जानकारी दिए ।

त्यसैगरी, बजारको माग धान्न र आपूर्तिलाई सन्तुलनमा ल्याउन हाल नियमित रूपमा आइरहेका दैनिक १०० बुलेट ग्यासलाई बढाएर १६० बुलेट पुर्‍याउन सरकारले कूटनीतिक पहलसमेत अगाडि बढाएको उनको भनाइ  छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *