बाढी प्रभावित त्रिभुवन त्रिशूली क्याम्पसलाई एनसेल फाउन्डेसनको सहयोग

काठमाडौं । एनसेल फाउन्डेसनले नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसमा बाढीका कारण अवरुद्ध पठनपाठन पुनः सञ्चालन गर्न शैक्षिक पूर्वाधार सहयोग गर्ने भएको छ ।

गत भदौमा भोटेकोशी नदीमा आएको बाढीले क्याम्पसमा ठूलो क्षति पुर्‍याएपछि प्रभावित विद्यार्थीको अध्ययनलाई निरन्तरता दिन फाउन्डेसनले विदुर नगरपालिकासँग सहकार्य गर्ने भएको हो । यससम्बन्धी समझदारीपत्रमा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ र एनसेल फाउन्डेसनकी निर्देशक विशाखा लक्ष्मी खड्काले हालै नगरपालिका कार्यालयमा हस्ताक्षर गरेका छन् ।

बाढीका कारण क्याम्पसका भौतिक संरचनामा क्षति पुगेपछि तीन सयभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको थियो । अब एनसेल फाउन्डेसनले नगरपालिका र क्याम्पस व्यवस्थापनसँगको सहकार्यमा नियमित कक्षा सञ्चालनका लागि ३२ वटा कक्षाकोठाको भौतिक पूर्वाधार निर्माण तथा व्यवस्थापनमा सहयोग गर्नेछ । साथै, क्याम्पस सञ्चालनका लागि आवश्यक कम्प्युटर, फर्निचरलगायत सामग्रीसमेत उपलब्ध गराउनेछ ।

यस सहयोगबाट बाढीका कारण प्रभावित विद्यार्थीलाई पुनः कक्षाकोठामा फर्कने वातावरण तयार हुनुका साथै उनीहरूको अध्ययनमा थप अवरोध आउन नदिने अपेक्षा गरिएको छ ।

समझदारीपछि नगरप्रमुख श्रेष्ठले क्याम्पसको पठनपाठन सञ्चालनका लागि आवश्यक शैक्षिक पूर्वाधार सहयोग गरेकोमा एनसेल फाउन्डेसनप्रति आभार व्यक्त गरेका छन् । उनले यस सहकार्यलाई सकारात्मक रूपमा लिँदै नगरपालिकाका अन्य क्षेत्रमा पनि शैक्षिक सहयोग विस्तार गर्न फाउन्डेसनसँग सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन् ।

शिक्षा क्षेत्र एनसेल फाउन्डेसनको प्राथमिकतामा रहँदै आएको छ । फाउन्डेसनकी निर्देशक खड्काले बाढी प्रभावित क्षेत्रमा शैक्षिक सहयोग विस्तार गर्न प्रतिबद्ध रहेको बताएकी छन् ।

उनले प्रभावित समुदायको वास्तविक आवश्यकता पहिचान गरी स्थानीय निकायसँग प्रत्यक्ष सहकार्य गरेर सहयोग अघि बढाउनुपर्ने उल्लेख गर्दै विदुर नगरपालिकासँगको सहकार्य सुरुवात मात्र भएको बताइन् । उनका अनुसार स्थानीय साझेदारसँग मिलेर अन्य प्रभावित विद्यालय तथा क्याम्पसको पहिचान गरी आवश्यक सहयोग उपलब्ध गराइनेछ ।

एनसेल फाउन्डेसनले भोटेकोशी बाढीपछि तत्काल राहत तथा उद्धार कार्यका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग उपलब्ध गराएको थियो । त्यसपछि प्रभावित क्षेत्रमा शिक्षा र शैक्षिक निरन्तरताका लागि आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले स्थानीय तहसँगको समन्वयमा काम अघि बढाएको हो ।

यस कार्यक्रमको कार्यान्वयन साझेदार संस्था कर्मयोग फाउन्डेसनमार्फत हुनेछ । एनसेल फाउन्डेसन, कर्मयोग फाउन्डेसन र स्थानीय सरकारले संयुक्त रूपमा प्रभावित क्षेत्रको आवश्यकता मूल्याङ्कन गर्नेछन् । सोही मूल्याङ्कनका आधारमा पठनपाठन पुनः सञ्चालन गर्न तथा निरन्तरता दिन सहयोग आवश्यक रहेका अन्य विद्यालय र क्याम्पस पहिचान गरी सहयोग विस्तार गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *