अब कङ्क्रिट सडक निर्माणका लागि अध्ययन गर्नेछौँ : मन्त्री  दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले कङ्क्रिट सडक निर्माणमा जोड दिने बताएका छन्।  सिमेन्ट कङ्क्रिट रोड कन्क्लेभमा बोल्दै उनले हाल कालोपत्रे सडक निर्माण भइरहेको र अब बन्ने सडक कङ्क्रिट गरिने बताए ।

‘देशको परिबेसमा सडक नै विकास हो भन्ने बुझाई छ । सडकमा अहिले कालोपत्र (बिटुमिन,अस्फाल्ट प्रविधि)  प्रयोग हुँदै आएको छ । अब कङ्क्रिटमा जानुपर्छ,’ उनले भने, ‘यो कतिको कस्ट इफेक्टिभ छत भन्दा   विज्ञहरूको भनाइअनुसार सुरुमा महँगो भए पनि टिकाउ हुने र कालोपत्रमा भन्दा सस्तो पर्ने देखियो ।’

सीएमएद्वारा आयोजित कार्यक्रममा डन्डी सहितको कङ्क्रिट गर्दा ५०–६० वर्ष मात्र नभएर १०० वर्ष नै टिक्ने उनको भनाइ थियो । ‘कस्टको हिसाबले सुरुमा महँगो पर्न जान्छ । यो लामो प्रोसेस हुन्छ । तर हामीलाई  छिटो विकास चाहिएको छ । तर यो प्रविधिबाट निर्माण गरिएको सडक लामो समयसम्म टिकाउ हुन्छ।’

अब सडकहरू पनि निजी साझेदारी (पीपीपी मोडल) मा  निर्माण गरिनुपर्ने उनको तर्क थियो । कहाँ कहाँका सडकमा फाइदा छ अध्ययन गरेर यो मोडलमा जानुपर्ने उनले बताए ।  ‘सिमेन्टमा आत्मनिर्भर भइसकेका छौँ । सिमेन्ट निर्यात गर्ने अवस्थामा पुगेका छौँ । कङ्क्रिट सडक उत्पादन व्यापक रूपमा जोड दिन्छौँ,’ उनले भने ।

अहिले दाउन्नेमा ४ किमी कङ्क्रिट सडक निर्माण भइसकेको र अब ६ किमी पुर्‍याउने तयारी रहेको पनि जानकारी दिए ।  ‘देशभरका कुन कुन ठाउँमा कालोपत्र गर्ने र कुन–कुन सडकमा कङ्क्रिट प्रविधि प्रयोग गर्ने विषयमा अध्ययन मन्त्रालयले गरेको छ । निजी क्षेत्रबाट पनि यस विषयमा अध्ययन गर्नुहोस्,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *