वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका–९ बस्ने लमजुङ दुधपोखरी गाउँपालिका–४ घर भएका ३५ वर्षीय साजन गुरुङ, ललितपुर महालक्ष्मी नगरपालिका–८ बस्ने रुपन्देही तिलोत्तमा नगरपालिका–१ घर भएका ३६ वर्षीय दीपक थापा, काठमाडौँ कागेश्वरी मनोहरा नगपालिका–५ बस्ने दाङ घोराही उपमहानगरपालिका–१५ घर भएका ४७ वर्षीय टेकबहादुर केसी, ललितपुर महानगरपालिका–२३ बस्ने स्याङ्जा वालिङ नगरपालिका–७ घर भएका ५० वर्षीय भरतप्रसाद पाण्डे र भक्तपुर मध्यपुर थिमी नगरपालिका–३ बस्ने पर्वत विहादी गाउँपालिका–४ घर भएका ३८ वर्षीय प्रेमप्रसाद भुसाल रहेका छन् ।

पक्राउमध्ये साजनले जर्मनी पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख ८० हजार रुपैयाँ, दिपकले जर्जिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ६ लाख रुपैयाँ, टेकबहादुरले ग्रीस पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट २१ लाख रुपैयाँ, भरतले कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २० लाख रुपैयाँ र प्रेमले कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३३ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए । पीडितहरूको सोही उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले साजन र टेकबहादुरलाई काठमाडौँ महानगरपालिका–२६ बाट तथा दीपकलाई काठमाडौँ महानगरपालिका–३० बाट बुधवार, भरत र प्रेमलाई ललितपुर महानगरपालिका१५ बाट बिहीबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *