काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले हाल सामाजिक सञ्जालमा प्रायोजित तवरले झुटो प्रचार हुने गरेको बताएका छन् । सोमबार राजधानीमा आयोजित नेपाली विशिष्ट महिलाहरूको ऐतिहासिक फोटो प्रदर्शनीमा उनले सामाजिक सञ्जालमा आएका हरेक कुरा सही नहुने बताए । उनले कुन सही, कुन झुटो कुरा हो भनेर तथ्य पत्ता लगाउने बानीको विकास गर्न समेत आग्रह गरे ।
कतिपयले सामाजिक सञ्जालमा प्रायोजित तवरले झुटो प्रचार गर्नको लागी म्यासेजहरू पठाउने गरेको उल्लेख गर्दै उनले यो ठिक छैन भनेर फिल्टर गर्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिए । यस्ता कुरामा आफ्नो बुद्धि विवेकलाई प्रयोग गर्नुपर्ने उनको भनाई छ । उनले भने,‘अहिले जुन सोसल मिडियाको जमाना छ । यसमा तपाई हामीले एउटा राम्रोसँग बुझ्नुपर्ने कुरा के हो भन्दाखेरी के झुटो समाचार हो, कुन चाँहीमा कत्तिको तथ्य छ भन्ने कुरा त हामी धर्तीमा जन्मेपछि भगवानले सबैलाई हामीलाई बुद्धि दिएको छ, विवेक दिएको छ ।
हामीले बुझ्नु त पर्यो नी छ । सामाजिक सञ्जालमा प्रायोजित तवरले झुटो प्रचार गर्नको लागी पठाएका म्यासेजहरूलाई यो ठिक छैन भन्ने कुरालाई फिल्टर गर्ने क्षमता त हामीले पनि विकास गर्नुपर्यो नी । कसैले लेखिदियो भन्दैमा सबै कुरा शत प्रतिशत सही हो भन्न भएन । हामी सँग भएका वृद्धि विवेकलाई पनि हामी प्रयोग गरौँ ।’ उनले देशमा बिस्तारै परिवर्तन आइरहेको बताए । हाल समाजमा सरकारले यो गरेन, त्यो गरेन भन्ने प्रचलन बढेको उल्लेख गर्दै उनले सरकारले नियम कानुनअनुसार प्रक्रिया मिलाएर काम गर्ने बताए ।