


पर्सा । सशस्त्र प्रहरी बल, नेपाल पर्साले पछिल्लो केही दिनयता गरेको सक्रियताले अवैध रुपमा भारतबाट नेपाल भित्र्याइने सामान नियन्त्रणमा लिँदै भन्सार कार्यालयमा बुझाउने क्रमलाई निरन्तरता दिएको छ। हालै मात्र सशस्त्र प्रहरीले करिब २९ लाख ८७ हजार ७६५ रुपैयाँ बराबरको अवैध सामान, सवारी साधनसहित नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको छ।
सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगञ्जबाट खटिएको टोलीले पर्साको वीरगञ्ज महानगरपालिका–११ पावरहाउस चोकमा छापामारी कारवाही गर्दा ठूलो मात्रामा चकलेट बरामद गरेको थियो। उक्त चकलेटको मूल्यांकन ७ लाख ४४ हजार रुपैयाँ गरिएको छ। सो चकलेट ल्याउन प्रयोग गरिएको टेम्पो र ई–लोडर समेत नियन्त्रणमा लिइएको छ, जसको मूल्य १३ लाख रुपैयाँ रहेको छ। यी सबै सामान तथा सवारी साधनलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको हो।
त्यसैगरी, सोही गुल्मबाट खटिएको अर्को टोलीले करिब ३६ हजार ४४० रुपैयाँ बराबरको किराना सामान बरामद गरेको छ। उक्त सामान भारततर्फबाट अबैध रूपमा ल्याइँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो। साथै, त्यस क्रममा प्रयोग भएको मोटरसाइकल समेत बरामद गरी १ लाख रुपैयाँ मूल्यांकन गरिएको छ। बरामद गरिएको सामान तथा सवारीसाधन तत्कालै भन्सारमा बुझाइएको जनाइएको छ।
यसैबीच, २०८२ भदौ ८ गते गुल्म अलौबाट खटिएको अर्को टोलीले वीरगञ्ज महानगरपालिका–१९, बिन्दवासिनी चोकमा अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याइँदै गरेको कपडा, किराना सामान र मोटरसाइकल नियन्त्रणमा लिएको छ। बरामद गरिएको कपडा तथा किरानाको मूल्य ३ लाख ७४ हजार २०५ रुपैयाँ रहेको छ भने प्रयोग गरिएको मोटरसाइकलको मूल्य १ लाख ५० हजार रुपैयाँ रहेको छ।सशस्त्र प्रहरी बलले यति मात्रमा सीमित नरही अन्य स्थानमा पनि अवैध गतिविधिबिरुद्ध कारवाहीलाई तिव्रता दिएको छ।
पर्सास्थित नं.१३ गण हे.क्वा. मातहतका सीमा सुरक्षा गुल्म सुवर्णपुर, भिखम्पुर, अमरपट्टी, पिडारीगुठि लगायतका बिओपीहरूले संयुक्त रूपमा कारवाही गर्दै विभिन्न सामान नियन्त्रणमा लिएका छन्। यस क्रममा पशुचौपायासहित करिब २ लाख ८३ हजार १२० रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको हो। यी सामानहरु आवश्यक कारवाहीका लागि भन्सारमा बुझाइएको र केही सामान लिलामी प्रक्रियामा रहेको जानकारी दिइएको छ।
सशस्त्र प्रहरी बलको निरन्तर सक्रियताले सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रणमा निकै प्रभावकारी भूमिका खेलेको देखिन्छ। सीमा क्षेत्रमा विभिन्न स्वरूपमा हुने अबैध व्यापारले राष्ट्रिय अर्थतन्त्रमा ठूलो असर पुर्याउने हुँदा यस्ता कारवाहीहरू प्रशंसनीय कदमका रुपमा लिइएको छ।पर्सा जिल्लामा मात्र नभई मुलुकभर सशस्त्र प्रहरीले अवैध गतिविधि नियन्त्रणमा चाँडै कारबाही गर्ने परम्परा स्थापित गरेको छ।
यसले समाजमा कानूनको शासन बलियो पार्नुका साथै भन्सार छली गर्ने समूहलाई ठूलो धक्का पुर्याएको छ।सीमावर्ती जिल्लामा बसोबास गर्ने सर्वसाधारणले समेत सशस्त्र प्रहरीको यस प्रकारको सक्रियतालाई खुलेर स्वागत गरेका छन्। उनीहरूको भनाइमा, प्रहरीको निगरानी र कारवाहीका कारण अबैध गतिविधि घट्दै गएको छ र यसले समाजमा शान्ति सुरक्षाको अनुभूति थप प्रबल भएको छ।भन्सार राजस्व बढाउनका लागि समेत यस्ता कारवाहीहरू निकै महत्वपूर्ण ठहरिन्छन्। नेपाल सरकारले लिने भन्सार कर तथा राजस्व मुलुकको आर्थिक मेरुदण्ड भएकाले अवैध रूपमा छली भित्र्याइने सामान नियन्त्रण गर्न सशस्त्र प्रहरी बलको योगदान उल्लेखनीय रहेको छ।
सशस्त्र प्रहरी बल पर्साका सूचनाअधिकारी सशस्त्र प्रहरी नायव उपरिक्षक सुरज कार्कीले अवैध गतिविधिविरुद्धको अभियानलाई अझ तिव्र बनाइने जानकारी दिएका छन्। उनका अनुसार सीमावर्ती क्षेत्रमा रहेका सबै नाकामा प्रहरी टोली सतर्कतापूर्वक खटिएका छन् र कुनै पनि हालतमा भन्सार छलीलाई बर्दाश्त गरिने छैन।अवैध सामान नियन्त्रणसँगै यसले स्थानीय बजारलाई समेत नियन्त्रण गर्ने कार्यमा सहयोग गरेको छ।
भारततर्फबाट भन्सार छली भित्र्याइने सामान सस्तो मूल्यमा बिक्री हुने हुँदा यसले नेपालभित्रको व्यापार व्यवसायलाई असर पुर्याउने गरेको छ। त्यसैले प्रहरीको सक्रियता बजार सन्तुलनका दृष्टिले समेत लाभदायी मानिन्छ।यस प्रकारको निरन्तर कारवाहीले अपराधी समूहलाई सचेत गराउने मात्र होइन, मुलुकको आर्थिक सुरक्षामा समेत टेवा पुर्याएको छ।
त्यसैले सशस्त्र प्रहरी बल पर्साको यस अभियानलाई सबैले प्रशंसा गरेका छन्।सीमा क्षेत्रमा हुने अबैध गतिविधि नियन्त्रण गर्न राज्यका विभिन्न निकायहरूको सहकार्य आवश्यक हुन्छ। तर, सशस्त्र प्रहरी बलले आफ्नो जिम्मेवारी निर्वाह गर्दै उदाहरण प्रस्तुत गरेको छ।उक्त सक्रियताले कानूनपालन गर्ने नागरिकमा विश्वास जगाएको छ भने अवैध कार्यमा संलग्नहरूलाई चेतावनी दिएको छ।
आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्नुपर्ने अपेक्षा गरिएको छ।यसरी सशस्त्र प्रहरी बल, पर्साले छोटो अवधिमा अवैध सामान नियन्त्रण गरी भन्सार दाखिला गरेर राष्ट्रलाई करोडौंको राजस्व बचाउन सफल भएको छ। यो अभियान निरन्तर जारी रहने विश्वास व्यक्त गरिएको छ।




