नाडा अटो शो २०२५ भव्यताका साथ सम्पन्न

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालद्वारा आयोजित १७औँ संस्करणको नाडा अटो शो २०२५ आज भदौ ८ गते काठमाण्डौको भृकुटीमण्डपमा भव्यताका साथ सम्पन्न भएको छ। शोको उद्घाटन सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूबाट गरिएको थियो भने समापन समारोह माननीय स्वास्थ्य तथा जनसंख्यामन्त्री श्री प्रदीप पौडेलज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

यस वर्षको अटो शो UNITREE (MAW Vriddhi) को मुख्य प्रायोजनमा सम्पन्न भएको थियो। ६ दिनसम्म चलेको यो प्रदर्शनीमा १,७६,७८९ दर्शकहरुले अवलोकन गरेका थिए, जुन दर्शक संख्याले अटो शोको इतिहासमा नयाँ कीर्तिमान कायम गरेको आयोजक नाडाले जनाएको छ।

यो संस्करणमा उड्ने सवारीसाधन, रोबोटिक मान्छे र कुकुरसँगै विभिन्न नयाँ ब्रान्डका अत्याधुनिक विद्युतीय सवारीसाधनहरु प्रमुख आकर्षण बनेका थिए। प्रदर्शनीमा श्रृंगारित स्टल र नयाँ मोडलका सवारी साधनले दर्शकको ध्यान खिचेका थिए।

कार्यक्रमका क्रममा दैनिक रूपमा अन्तरक्रिया सत्र समेत आयोजना गरियो, जसमा अन्तर्राष्ट्रिय अटो ट्रेड संवाद, नेपालमा ई–भेहिकल्सको सम्भावना, कर्जा नीति र अटोमोवाइल बजारको भविष्य, फ्लाइङ कार प्रविधि, युवा मोबिलिटी लगायतका विषयमा छलफल गरिएको थियो।

समापनकै दिन बसेको नाडा केन्द्रीय कार्य समितिको २१औं बैठकले नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाललाई “नाडा अटोमोवाइल्स महासंघ नेपाल” (Federation of NADA Automobiles Nepal) मा रूपान्तरण गर्ने प्रस्ताव गर्दै भदौ २४ गते विशेष साधारण सभा आह्वान गर्ने घोषणा गरेको छ। यसलाई नाडाको स्वर्ण जयन्ती वर्षतर्फको ऐतिहासिक तयारीको रूपमा लिइएको छ।

यस संस्करणमा उत्कृष्ट स्टलतर्फ दिपाल, एमएडब्लु अटो कर्प, रोयल इनफिल्ड अल्फा अटोमोटिभ, श्री अद्धेत इभी, हिटको प्रा.लि. र श्री ग्लोबल आईएमई बैंक लिमिटेडले विभिन्न श्रेणीमा पुरस्कार प्राप्त गरेका छन्।

समापन कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले नाडा अटो शो २०२५ लाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण कम्पनी, संस्था, सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गर्दै अटो शोले अटोमोवाइल क्षेत्र मात्र नभई समग्र अर्थतन्त्रलाई चलायमान बनाउन टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *