



वीरगञ्ज, १२ भदौ। सशस्त्र प्रहरी बल पर्साले लगातारको कडाइ र उच्च सतर्कताका कारण भन्सार छली गरी ल्याइएका विभिन्न सामानहरू बरामद गरी भन्सारमा दाखिला गरेको छ।मिति २०८२ भदौ १२ गते बिहान ७:३० बजे बिन्दाबासिनी गाउँपालिका–४, भलुवा घाट सीमाक्षेत्रबाट सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजाराको नेतृत्वमा खटिएको मोबाइल गस्ती टोलीले विभिन्न सामानहरू बरामद गरेको हो।
उक्त समयमा बरामद गरिएका सामानहरूको मूल्य रु. ६०,२०० बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ।यसैगरी, २०८२ भदौ ११ गते अलौ नाकाबाट सोही टोलीले रु. ६४,१०० बराबरका सामान बरामद गर्न सफल भएको थियो। दुवै दिनमा गरी जम्मा रु. १,२४,३०० (एक लाख चौबीस हजार तीन सय) बराबरको सामान बरामद गरी भन्सार कार्यालयमा दाखिला गरिएको छ।
सशस्त्र प्रहरी बल पर्साले अवैध गतिविधि नियन्त्रण, भन्सार छली रोकथाम र सीमाक्षेत्रमा सुरक्षा व्यवस्था मजबुत बनाउन निरन्तर सक्रियता देखाइरहेको छ।
सीमावर्ती क्षेत्रमा तस्करी, अवैध कारोबार र अपराध नियन्त्रणका लागि प्रहरी बलको सतर्कता र दृढतापूर्ण कदमको प्रशंसा स्थानीयहरूले पनि गरेका छन्।यसरी निरन्तर रूपमा हुने कारबाहीले अवैध कारोबारमा संलग्न व्यक्तिहरूलाई निरुत्साहित गर्ने र राष्ट्रको राजस्व संरक्षणमा ठूलो योगदान पुग्ने देखिन्छ।
