संसदीय सुनुवाइ समितिमा शुक्रबार सदस्य हेरफेर हुने

काठमाडौँ । संसदीय सुनुवाइ समिति (संयुक्त) मा सदस्य हेरफेर हुने भएका छन् । प्रतिनिधिसभाको शुक्रबारको लागि तय भएको बैठकमा सभामुख देवराज घिमिरेले समिति सदस्यको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको छ । सम्भावित कार्यसूचीको २ नम्बरमा लेखिएको छ, ‘सम्माननीय सभामुखले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाइ समितिमा माननीय सदस्यको नाम हेरफेर गर्नुहुने ।’

स्रोतका अनुसार नेपाली कांग्रेसले समितिमा सदस्य हेरफेर गर्न लागेको हो । सभामुखले बिहीबार बोलाएको प्रमुख सचेतकहरूको बैठकमा प्रमुख सचेतक श्यामकुमार घिमिरेले सदस्य हेरफेरको प्रस्ताव राखेका थिए ।

सङ्घीय निजामती कर्मचारी विधेयकको ‘कुलिङ अफ पिरियड’ लफडा छानबिन गर्न बनेको संसदीय विशेष समितिले नैतिक जिम्मेवार ठहर्‍याएपछि राज्य व्यवस्था तथा सुशासन समिति सभापतिबाट राजीनामा दिएका रामहरि खतिवडालाई संसदीय सुनुवाइ समितिमा कांग्रेसले लैजान लागेको बताइएको छ ।

सुनुवाइ समिति सभापति ईश्वरीदेवी न्यौपानेले त्यो पदबाट राजीनामा दिएर राज्य व्यवस्था तथा सुशासन समिति सभापति बनेकी छन् । रिक्त सभापति पदमा निर्वाचन हुनुअगाडि कांग्रेसले सदस्य फेर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *