रोकिराखेको बसमा स्कुटर ठोकिँदा दुई युवकको मृत्यु

काठमाडौं : काठमाडौँको जडिबुटीमा रोकिराखेको बसको पछाडि स्कुटर ठोकिँदा दुई युवकको मृत्यु भएको छ।

काठमाडौँ महानगरपालिका- ३२ जडिबुटी आकाशेपुल नजिकै रोकिएको बा.प्र ०१-००६ ख ४२४३ नम्बरको अरनिको यातायातको बसको पछाडि आज बिहान पौने तीन बजेतिर कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु.४३ प ४९३८ नम्बरको स्कुटर ठोकिँदा दुई युवकको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहोराले जानकारी दिए।

मृत्यु हुनेमा स्कुटर चालक नवलपरासीको सुनौल नगरपालिका-१ स्थायी घर भई हाल भक्तपुरको लोकन्थली बस्दै आएका २२ वर्षीय शिरिस पौडेल र काभ्रेको पाँचखान नगरपालिका-२ होस्के घर भएका २३ वर्षीय नितेश नेपाल रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारको लागि तत्काल ट्रमा सेन्टर लगिएको थियो। पौडेलकाे उपचारको क्रममा शुक्रबार बिहान साढे तीन बजे र नेपालको बिहान पौने चार बजे मृत्यु भएको हो।

घटनामा संग्लन दुवै सवारी साधन कोटेश्वर ट्राफिकको नियन्त्रणमा छन्। बस चालक दोलखा घर भइ हाल काँडाघारी बस्ने वर्ष २५ का सुभाष तामाङलाई प्रहरीले नियन्त्रणमा राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *