मानव बेचबिखन नियन्त्रणमा पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रको असाधारण योगदान, राष्ट्रियस्तरमै सम्मानित

काठमाडौं । मानव बेचबिखन तथा ओसारपोसारविरुद्धको राष्ट्रिय दिवस (भदौ २०) को अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र सम्मानित भएका छन्। नेपाल सरकारको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले ७७ जिल्लामध्ये पर्सा प्रहरीले देखाएको सक्रियता र नतिजालाई आधार मानेर मिश्रलाई सम्मान गरेको हो।

सम्मानपत्र उपप्रधानमन्त्री प्रकाशमान सिंहले एक विशेष समारोहबीच प्रदान गरेका थिए। मिश्रको नाम यसअघि पनि प्रहरी सेवामा जनमुखी कार्यशैलीका कारण चर्चामा आएको थियो।पर्सा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको करिब सात महिनामै उनले मानव बेचबिखन नियन्त्रणका क्षेत्रमा असाधारण पहल गरेका छन्। यो अवधिमा १५ वटा मुद्दा दर्ता गराई, त्यसमा संलग्न १७ जनालाई पक्राउ गरी अदालतसम्म पुर्‍याउने काम उनले सफलतापूर्वक सम्पन्न गरेका थिए।

यति मात्र होइन, बेचबिखनको जोखिममा परेका करिब ३०० भन्दा बढी व्यक्तिहरूलाई सुरक्षित उद्दार गरी समाजमा पुनःस्थापित गर्ने उल्लेखनीय कार्यसमेत उनले नेतृत्व गरेका थिए। यी उदारात्मक कदमहरूले पर्सा प्रहरीलाई मानव बेचबिखन नियन्त्रणमा अग्रणी जिल्लाको रूपमा स्थापित गरिदिएको छ।सचेतना अभिवृद्धिका लागि एसपी मिश्रले पर्सा जिल्लाभर करिब ३५० वटा सचेतना कार्यक्रम सञ्चालन गरेका छन्। विद्यालयदेखि गाउँ–गाउँसम्म पुगेका यी कार्यक्रमहरूले हजारौँ सर्वसाधारणलाई मानव बेचबिखनविरुद्ध जागरुक बनाउन मद्दत गरेको छ।

मन्त्रालयले गरेको मूल्याङ्कनमा पर्सा प्रहरीको भूमिका विशेष प्रभावकारी देखिएकाले यसपालि मिश्रलाई राष्ट्रियस्तरमै सम्मानित गर्ने निर्णय लिइएको थियो।यसअघि पनि मिश्रको नेतृत्व र कार्यक्षमता पहिचान भइसकेको छ। केही महिनाअघि उनले मधेस प्रदेशकै उत्कृष्ट प्रहरी उपरीक्षक का रूपमा सम्मान पाएका थिए।

२०८१/८२ कार्यसम्पादन मूल्याङ्कनमा समेत उनी सम्पूर्ण मधेस प्रदेशका प्रहरी उपरीक्षकमध्ये प्रथम बनेका थिए। यो उपलब्धिले उनको नेतृत्व क्षमताको उच्च प्रमाण प्रस्तुत गरेको छ।मिश्रले सदैव अपराध नियन्त्रणमा कडाइ मात्र होइन, समाजसँग निकट सम्बन्ध कायम गर्ने रणनीति पनि अगाडि सारेका छन्।

अपराधविरुद्धको लडाइँलाई उनी केवल प्रहरी संगठनको जिम्मेवारी नभई सम्पूर्ण नागरिकको सामूहिक अभियान मान्छन्।उनको यही दृष्टिकोणका कारण पर्सामा प्रहरीप्रति नागरिकको विश्वास बढ्दो क्रममा रहेको स्थानीयहरूले बताउने गरेका छन्।मानव बेचबिखनलाई उनले गम्भीर अपराधका रूपमा पहिचान गर्दै यसविरुद्ध सशक्त कदम चालेका छन्।

प्रहरी संगठनभित्रको अनुशासन, पारदर्शिता र इमान्दारीलाई उनले आफ्नो नेतृत्वमा प्राथमिकतामा राखेका छन्।राष्ट्रियस्तरको यो सम्मान केवल एक व्यक्तिलाई गरिएको सम्मान मात्र नभई, पर्सा प्रहरीले गरेको निरन्तर मेहनत र त्यागप्रतिको कदर हो। यसले प्रहरी संगठनलाई अझ प्रेरित बनाउने विश्वास लिइएको छ।कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्ति, संघसंस्थाहरूले पनि आफ्नो–आफ्नो योगदानका आधारमा सम्मान प्राप्त गरेका थिए।

तर, मानव बेचबिखन नियन्त्रणको क्षेत्रमा पर्सा प्रहरीले पाएको यो सम्मान सबैका लागि विशेष र प्रेरणादायी बनेको छ।एसपी गौतम मिश्रको इमानदार, निडर र सक्रिय नेतृत्वले पर्सा प्रहरी मात्र नभई सम्पूर्ण प्रहरी संगठनलाई नै नयाँ उचाइमा पुर्‍याएको छ भन्नेमा कुनै द्विविधा छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *