मिसिगन । संयुक्त राज्य अमेरिकाको मिसिगन राज्यमा रहेको लेटर डे सेन्ट्स (Latter-day Saints) चर्चमा भएको गोलीकाण्ड र आगलागीमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।
स्थानीय समय अनुसार आइतबार बिहान भएको घटनामा एक व्यक्तिले चर्चभित्र अन्धाधुन्ध गोली चलाएपछि आगो लगाएको अमेरिकी प्रहरी स्रोतले जनाएको छ। घटनास्थलमा प्रहरी र दमकलले तत्काल पहुँच गरी आगो नियन्त्रणमा लिएका थिए।
घटनामा घाइते भएका आठ जनामध्ये केहीको अवस्था गम्भीर रहेको र नजिकैका अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले बताएका छन्। मृतकमध्ये दुई जना घटनास्थलमै र दुई जनाको उपचारका क्रममा निधन भएको जनाइएको छ।
प्रहरीले घटनामा संलग्न शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ र प्रारम्भिक अनुसन्धान सुरु गरिएको जनाएको छ। प्रारम्भिक तथ्यांकअनुसार घटना व्यक्तिगत द्वन्द्वका कारण हुनसक्ने अनुमान गरिएको छ।
चर्चमा आइतबार बिहानको प्रार्थना सभामा सहभागी भक्तजनहरू उपस्थित रहेका बेला घटना भएको हो। स्थानीय समुदाय स्तब्ध बनेको छ भने अधिकारीहरूले पीडित परिवारप्रति गहिरो संवेदना व्यक्त गरेका छन्।
अमेरिकामा पछिल्ला वर्षहरूमा धार्मिक स्थलहरूमा गोलीकाण्डका घटनाहरू बढ्दै गएका छन्, जसले सुरक्षा चुनौती थपिएको बताइएको छ।
