वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई आफ्नो गाजा युद्धविराम प्रस्तावमा प्रतिक्रिया दिन ‘तीन वा चार दिन’ मात्र समय दिइएको बताएका छन्।
ट्रम्पका अनुसार इजरायली र अरब नेताहरूले पहिले नै उक्त शान्ति योजना स्वीकार गरिसकेका छन् भने अब निर्णायक जवाफ हमासबाट आउन बाँकी छ। उनले युद्धविराम प्रस्तावले गाजामा जारी मानवीय संकट अन्त्य गर्ने र दीर्घकालीन स्थायित्व ल्याउने विश्वास व्यक्त गरेका छन्।
राष्ट्रपति ट्रम्पले समयसीमा तोकेर हमासलाई तुरुन्त कदम चाल्न चेतावनी पनि दिएका छन्। उनका अनुसार, प्रस्ताव अस्वीकार भएमा अमेरिका र सहयोगी राष्ट्रहरूले अर्को विकल्पका उपायहरू अपनाउनेछन्।
गाजामा पछिल्ला महिनादेखि निरन्तर हिंसात्मक झडप भइरहेको छ, जसमा हजारौं मानिस प्रभावित भएका छन्। अन्तर्राष्ट्रिय समुदायले समेत तत्काल युद्धविरामको माग गर्दै आएको छ।
