काठमाडौँ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको जनधन क्षतिबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसहितका उच्च अधिकारीलाई अनुसन्धानको दायरामा ल्याउने तयारी गरेको छ ।
आयोगका अनुसार आन्दोलनका क्रममा भएका घटना, राज्यका निकायहरूको भूमिका तथा सुरक्षातर्फका निर्णय प्रक्रियाको सम्पूर्ण विवरण संकलन गरी जिम्मेवार तहका व्यक्तिहरूबाट बयान लिने तयारी भइरहेको छ । यसका लागि आयोगले आवश्यक प्रमाण, प्रतिवेदन तथा सुरक्षा निकायका अभिलेख संकलन कार्य तीव्र पारेको छ ।
कार्की आयोगले उच्च तहका राजनीतिक तथा प्रशासनिक व्यक्तिहरूलाई जवाफदेही बनाउने उद्देश्यका साथ निष्पक्ष छानबिन अघि बढाइरहेको जनाएको छ । आयोगका अध्यक्ष कार्कीले भने, “घटनामा संलग्न वा जिम्मेवार जो कोही भए पनि कानूनको दायरामा ल्याइनेछ, चाहे उनी उच्च पदस्थ व्यक्ति नै किन नहुन्।”
जेनजी आन्दोलनका क्रममा देशका विभिन्न भागमा प्रदर्शन, तोडफोड र सुरक्षा निकायसँगको झडप हुँदा जनधनमा ठूलो क्षति भएको थियो । आन्दोलन नियन्त्रणका क्रममा सरकारी निर्णय, निर्देशन र कार्यान्वयन तहबीच समन्वयमा कमजोरी भएको आरोप उठ्दै आएको छ ।
आयोगले आगामी केही दिनभित्र ओली, लेखक र अन्य सम्बन्धित अधिकारीहरूलाई औपचारिक रूपमा बयानका लागि बोलाउने तयारी गरेको छ । आयोगको प्रतिवेदन आगामी महिना मन्त्रिपरिषद्मा पेश गरिने बताइएको छ ।
