रवि लामिछानेसँग चुनावी तालमेलको प्रस्ताव गरिएको छैन : प्रचण्डको सचिवालय

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग चुनावी तालमेलको प्रस्ताव नगरिएको जनाएको छ । बिहीबार केही पत्रपत्रिकासहितका सञ्चार माध्यममा ‘नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपा सभापति रवि लामिछानेसँग चुनावी तालमेलको प्रस्ताव राखेको’ भनेर समाचार प्रकाशित गरेपछि प्रचण्डको सचिवालयले त्यसको खण्डन गरेको हो ।

‘केही सञ्चार माध्यमले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपा सभापति रवि लामिछानेसँग चुनावी तालमेलको प्रस्ताव राखेको भन्ने झुठ्ठा समाचार प्रकाशित गरेकोमा ध्यानाकर्षण भएको छ,’ प्रचण्डको सचिवालयले भनेको छ, ‘यो समाचार पूर्णतः असत्य छ ।’

चुनावी सहकार्यका विषयमा रास्वपासँग पार्टीका तर्फवाट संयोजक वा अन्य कुनै पनि नेताले कुराकानी नगरेको पनि नेकपाको सचिवालयले प्रष्ट पारेको छ । असत्य र सम्वन्धित पक्षवाट पुष्टीबिना एकपक्षीय ढंगले प्रवाह गरिएका झुटा समाचारको भ्रममा नपर्न पनि सचिवालयले सम्बन्धित सबैमा आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *