कञ्चनपुरमा महिला मतदाता बढी

कञ्चनपुर : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदाताको संख्या यहाँ तीन लाख १४ हजार ३८५ रहेको छ । तीमध्ये महिला मतदाताको संख्या एक लाख ६० हजार ३१६ छ ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराले महिला मतदाता एक लाख ६० हजार ३१६ छ भने पुरुष मतदाताको संख्या एक लाख ५४ हजार ६८ रहेको जानकारी दिए । उनका अनुसार महिला मतदाताको संख्या पुरुषको भन्दा छ हजार २४८ बढी हो ।

जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तीन वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको जनाउँदै क्षेत्र नं २ मा सबैभन्दा बढी एक लाख नौ हजार ५७४ मतदाता रहेका उल्लेख गरे। सबैभन्दा कम निर्वाचन क्षेत्र नं १ मा एक लाख एक हजार ७२४ मतदाता छन् ।

मतदाताको सङख्यालाई मध्यनजर गरी मतदान केन्द्र निर्धारण गरिएको सूचना अधिकारी महराले बताए । अघिल्लो निर्वाचनमा तीन सय ४६ मतदान केन्द्र रहेकामा यसपटक केन्द्रको सङ्ख्या बढाएर तीन सय ६० पुर्‍याइएको उनले जानकारी दिए ।

कृष्णपुर नगरपालिकामा रहेका दुई वटा मतदानस्थलको स्थान परिवर्तन गरिएको छ । मतदानस्थल भने साविककै एक सय ३२ कायम गरिएको छ । निर्वाचन क्षेत्र नं ३ मा दुई वटा अस्थायी मतदान केन्द्र राख्नेबारे छलफल भइरहेको निर्वाचन कार्यालयका सूचना अधिकारी महराले बताए।

तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको जानकारी दिँदै उनले कर्मचारी खटाउने, सुरक्षाकर्मी खटाउने र आवश्यक सामग्रीको व्यवस्थापन गर्ने कार्य गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *