
चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले इलाका प्रहरी कार्यालय चनौली चितवनका कार्यालय प्रमुख प्रहरी निरीक्षक कल्पना सापकोटाले गरेको उल्लेखनीय कार्यको उच्च मूल्याङ्कन गर्दै उहाँलाई २०८२ साल पुष महिनाको “Best Police of the Month” घोषणा गर्दै सम्मान गरेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी निरीक्षक सापकोटाले कार्यालय प्रमुखको रूपमा जिम्मेवारी सम्हालेपछि शान्ति सुरक्षा, लागू औषध नियन्त्रण, चोरी तथा फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयन र ट्राफिक व्यवस्थापनजस्ता क्षेत्रमा उल्लेखनीय सुधार ल्याउन सफल हुनुभएको छ।इलाका प्रहरी कार्यालय फुलबारी चोक चितवन अन्तर्गत रहेको इलाका प्रहरी कार्यालय चनौली चितवनमा कार्यरत सापकोटाले आफ्नो कमाण्डमा प्रहरी टोली परिचालन गरी विभिन्न मिति र स्थानबाट प्रभावकारी अपरेसन सञ्चालन गर्नुभएको थियो।
लागू औषध नियन्त्रणतर्फ उहाँको भूमिका विशेष रूपमा प्रभावकारी देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी निरीक्षक सापकोटाको नेतृत्वमा खटिएको टोलीले खैरो हिरोइन ७.२५ ग्राम, गाँजा २०१० ग्राम (२ किलो १० ग्राम) तथा डाइजेपाम १८९ एम्पुल बरामद गर्न सफल भएको थियो।लागू औषध कारोबारमा संलग्न ६ जना प्रतिवादीहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउनु पनि उहाँको नेतृत्वदायी सफलताको रूपमा लिइएको छ। यसले चनौली क्षेत्रलाई लागू औषध कारोबारबाट सुरक्षित बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याएको छ।
त्यसैगरी, मिति २०८२/०९/१५ गते चोरी मुद्दामा संलग्न २ जना व्यक्तिलाई दसिका सामानसहित पक्राउ गर्न सफल हुनु उहाँको सक्रियता र सूचनामा आधारित प्रहरी कार्यको उदाहरण बनेको छ।विभिन्न चालु मुद्दामा फरार रहेका ४ जना प्रतिवादीलाई पक्राउ गरी कानूनी दायरामा ल्याउनु पनि प्रहरी निरीक्षक सापकोटाको अर्को उल्लेखनीय उपलब्धि हो।फैसला कार्यान्वयनतर्फ पनि उहाँको भूमिका प्रभावकारी देखिएको छ।
विभिन्न मुद्दाका ३८ जना फरार प्रतिवादीलाई पक्राउ गरी उनीहरूबाट जम्मा १९ वर्ष ४ महिना २८ दिन कैद र रु. ११,०९५००/- जरिवाना असुलउपर गराउन सफल भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।यसले न्यायिक प्रक्रियाको कार्यान्वयनमा प्रहरीको भूमिकालाई थप मजबुत बनाएको प्रहरी अधिकारीहरूको भनाइ छ।प्रहरी निरीक्षक सापकोटाले अपराध नियन्त्रण मात्र होइन, समुदाय–मैत्री प्रहरी सेवा लाई पनि प्राथमिकता दिँदै आउनुभएको छ।
चनौली बजार क्षेत्रमा बढ्दो सवारी चाप र दुर्घटनाको जोखिम न्यूनीकरण गर्न उहाँले स्थानीय बजार व्यवस्थापन समितिसँग समन्वय गरी ३० थान ट्राफिक कोन तथा पार्किङ बोर्डहरू राख्ने व्यवस्था मिलाउनुभएको थियो।यस कदमले बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन सहज र व्यवस्थित बन्नुका साथै दुर्घटना न्यूनीकरणमा सकारात्मक प्रभाव पारेको स्थानीयवासीहरूको प्रतिक्रिया रहेको छ।स्थानीय बासिन्दाहरूका अनुसार प्रहरी निरीक्षक सापकोटा जनतासँग सरल, शिष्ट र सहयोगी व्यवहार गर्नुहुन्छ, जसका कारण प्रहरी–जनता सम्बन्ध थप सुदृढ भएको छ।

