केन्द्रीय सुरक्षा समितिको बैठक : सामाजिक सञ्जालको दुरुपयोगमा निगरानी बढाइने

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । बुधबार गृह मन्त्रालयमा बसेको बैठकले फागुन २१ मा हुने निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गरेको छ । बैठकमा गृह मन्त्रालय र रक्षा मन्त्रालयका सचिव तथा चार वटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि रहने व्यवस्था छ ।

बैठकमा यसअघि स्वीकृत भएर कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ बमोजिम जिम्मेवार निकायहरूले सम्पादन गरिरहेका कार्यहरू, जनशक्ति परिचालन तथा बन्दोबस्तीको योजनाका बारेमा समीक्षा भएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताए ।

निर्वाचनको प्रचार प्रसारको क्रममा सामाजिक सञ्जालको दुरुपयोगलाई नियन्त्रण गर्न  र  निगरानीलाई प्रभावकारी बनाउनेबारे छलफल भएको छ । बैठकले सामाजिक सञ्जालमार्फत दुष्प्रचार गरेको भेटिएमा कडाइका साथ कारबाही गर्ने निर्णय गरेको छ ।

निर्वाचन सुरक्षा तयारीबारे चार वटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूले बैठकमा ब्रिफिङ गरेका छन् । सुरक्षा अवस्था र सुरक्षा चुनौतीबारे विश्लेषण गरिएको बैठकमा सहभागी गृह मन्त्रालयका एक जना उच्च अधिकृतले जानकारी दिए । उनले भने, ‘सबै सुरक्षा निकायले समन्वय गर्नेबारे छलफल भएको छ ।’

बैठकले निर्वाचनको कार्यक्रममा समन्वय गर्न गठन गरिएका सबै संयन्त्रहरूलाई सक्रिय बनाउने निर्णय गरेको छ । राजनीतिक दल र उम्मेदवारहरूको प्रचार प्रसार कार्यक्रममा सुरक्षा व्यवस्थालाई भरपर्दो बनाउन सबै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *