जनकपुरधाममा आचारसंहिता उल्लङ्घन गर्ने १५०० बढी सामग्री हटाइयो

काठमाडौँ : जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै सार्वजनिक स्थलमा राखिएका प्रचार सामग्री हटाइएको छ । निर्वाचनसँग सम्बन्धित निकायमा निरन्तर उजुरी आएपछि सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई स्वयं सामग्री हटाउन निर्देशन दिइएको थियो ।

निर्देशन कार्यान्वयन नभएपछि शनिबार स्थानीय प्रशासन र सुरक्षाकर्मीले संयुक्त रूपमा अनुगमन गर्दै एक हजार पाँच सयभन्दा बढी पोस्टर, ब्यानर, स्टिकर र झण्डा हटाएका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार ती सामग्री सार्वजनिक स्थल, विद्युत् पोल, पर्खाल तथा सरकारी संरचनामा टाँसिएका थिए, जुन निर्वाचन आचारसंहिताको विपरीत मानिएको छ ।

अनुगमनका क्रममा सबैभन्दा धेरै उल्लंघन देखिएको दलका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले जानकारी दिएका छन् ।

निर्वाचन कार्यालयले आचारसंहिता पालना नगर्ने दल वा उम्मेदवारमाथि कानुनी कारबाही हुनसक्ने चेतावनी दिँदै आएको र त्यसकै आधारमा नियमित अनुगमन भइरहेको उनले बताए ।

निष्पक्ष, स्वतन्त्र र स्वच्छ निर्वाचनको वातावरण कायम राख्न स्थानीय प्रशासन, प्रहरी तथा सम्बन्धित निकायले सबै सरोकारवालालाई जिम्मेवार व्यवहार गर्न आग्रह गरेका छन् । साथै आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिइने र उल्लंघन दोहोरिए कडा कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *