काठमाडौं । अमेरिका र इरानबीच इस्लामाबादमा भएको उच्चस्तरीय वार्ता बिनाकुनै निष्कर्ष टुंगिएको छ । इरानको तस्निम न्युज एजेन्सीका अनुसार, इरानले वार्तामा थुप्रै प्रस्तावहरू राखेको र अब ती मुद्दाहरूलाई ‘यथार्थपरक’ ढंगले हेर्ने जिम्मेवारी अमेरिकाको काँधमा छोडिदिएको छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईका अनुसार, केही मुद्दामा सहमति जुटे पनि दुई–तीनवटा मुख्य विषयमा अझै गम्भीर मतभेद छन् । बगाईले भने, “यो वार्ता ४० दिनको युद्ध र दशकौँको अविश्वासको बीचमा भएको हो । त्यसैले एउटै बैठकमा सबै कुरा मिल्छ भन्ने अपेक्षा गर्नु स्वाभाविक थिएन ।”
इरानले अमेरिकामाथि युद्धको मैदानमा हासिल गर्न नसकेका कुराहरू वार्ताको टेबुलबाट खोस्न खोजेको आरोप लगाएको छ । घानास्थित इरानी दूतावासले भनेको छ, “उपराष्ट्रपति जेडी भान्स खाली हात वासिङटन फर्किएका छन् र होर्मुज जलमार्ग अझै बन्द छ ।”
होर्मुज जलमार्ग विश्वको ऊर्जा सुरक्षाका लागि मेरुदण्ड मानिन्छ । इरानले यसलाई आफ्नो सबैभन्दा बलियो रणनीतिक कार्डका रूपमा प्रयोग गरिरहेको छ । इरानले अमेरिकाले सही सम्झौता नगरेसम्म यो मार्ग नखुल्ने चेतावनी दिएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले यसबारे दुई परस्परविरोधी वक्तव्य दिएका छन् । यसअघि ट्रम्पले भनेका थिए, “अमेरिकालाई होर्मुजको मतलब छैन, हामीलाई त्यहाँको तेल चाहिँदैन ।” अहिले भने, “होर्मुज खुला राख्नु नै हाम्रो मुख्य माग हो, यो बिनावार्ता हुन सक्दैन ।”
यही अनिश्चितताले गर्दा अर्को चरणको वार्ता झन् कठिन हुने बताइएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका सम्झौताबिना फर्किएको पुष्टि गर्दै इरानको परमाणु कार्यक्रम नै मुख्य बाधक रहेको बताए ।
अमेरिकाले इरानबाट भविष्यमा कहिल्यै पनि परमाणु हतियार नबनाउने पक्का र दीर्घकालीन प्रतिबद्धता खोजेको छ । भान्सका अनुसार, इरानका युरेनियम सम्वर्धन केन्द्रहरू धेरै हदसम्म नष्ट भइसकेका भए पनि इरानको नियतमाथि अझै शंका कायम छ ।
हाल दुई हप्ताको अस्थायी युद्धविराम जारी छ । तर, अर्को चरणको वार्ताका लागि कुनै मिति वा स्थान तय भएको छैन । यदि होर्मुज जलसन्धि चाँडै खुलेन भने विश्व बजारमा तेलको मूल्य अझै बढ्नेछ, जसले विश्वव्यापी मुद्रास्फीति निम्त्याउन सक्छ । पेन्टागनले आफ्ना जहाजहरू निर्बाध रूपमा होर्मुजबाट गुज्रिएको दाबी गरे पनि इरानले त्यसलाई चुनौती दिइरहेको छ ।
