कैलालीमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते

धनगढी । कैलालीको जानकी गाउँपालिकामा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ  । यस्तै अन्य तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बुधवार दिउँसो जानकी गाउँपालिका–३ स्थित डुडेझारी सडकखण्डमा वडा कार्यालयअगाडि से५प २५६० र सुप प्र ०१–०१२प ८०७५ नम्बरका दुई मोटरसाइकल ठोक्किएका थिए।

दुर्घटनामा जानकी गाउँपालिका–८ निवासी १९ वर्षीय राकेश परियार गम्भीर घाइते भएका थिए। उपचारका लागि नेपालगन्जस्थित सेवा नर्सिङ होम लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

अर्का मोटरसाइकल चालक, ४५ वर्षीय पुष्कर शाहीको अवस्था गम्भीर छ। उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, मोटरसाइकलमा सवार १३ वर्षीया प्रिन्सी शाही र १८ वर्षीय कमल रावलको अवस्था भने खतरामुक्त रहेको छ। उनीहरूलाई टीकापुर अस्पतालमा उपचार गरिँदै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *