सचेत र क्रान्तिकारी युवा नै राष्ट्र निर्माणका मेरुदण्ड : बामपन्थी दृष्टिकोणमा युवा आन्दोलनको नयाँ परिभाषा

हरी सरण जमकट्टेल, काठमाडौं । नेपालको राजनीतिक इतिहास, वर्गसंघर्ष र सामाजिक परिवर्तनको यात्रा युवावर्गबिना कल्पना गर्न सकिँदैन। समाजवाद निर्माणको लक्ष्य बोकेको बामपन्थी आन्दोलनको केन्द्रमा रहेको युवाशक्ति केवल उमेरको हिसाबले युवा भएर मात्र होइन, चेतनाको स्तर, राजनीतिक दृष्टिकोण र वर्ग–चेतनाको आधारमा विश्लेषणीय विषय बनेको छ। “देश निर्माणमा जोश मात्रै होइन, सोच र चेतनाको आवश्यकता छ। त्यसैले आजको आवश्यकता भनेको सिर्फ युवा होइन, सचेत र क्रान्तिकारी युवा हो।”

बामपन्थी दृष्टिकोणअनुसार आजको विश्व व्यवस्था साम्राज्यवादी प्रभाव, उपभोक्तावादी संस्कार र नव–उपनिवेशवादी नीतिहरूबाट प्रभावित हुँदै गएको छ। नेपालमा पनि विदेशी प्रभाव, वैदेशिक रोजगारको लहर, तथा निजी लाभप्रतिको आकर्षणले युवाहरूलाई दिशाहीन बनाइरहेको अवस्था छ। पूँजीवादी बजारले युवाहरूलाई आत्मकेन्द्रित, व्यक्तिगत सफलता र वैभवको सपना देखाएर राष्ट्र, समाज र वर्गप्रतिको जिम्मेवारीबाट टाढा लैजाने काम गरिरहेको छ। यस्तो समयमा युवालाई क्रान्तिकारी चेतनाले सुसज्जित गर्नु नै बामपन्थी आन्दोलनको प्रमुख कार्यभार हो।

सचेत र क्रान्तिकारी युवा भनेको त्यो हो जसले समाजको संरचना बुझ्छ, वर्गीय विभाजन चिन्न जान्दछ, राष्ट्रको सार्वभौमिकता र स्वाधीनता रक्षा गर्न तयार हुन्छ। उनीहरू केवल नाराबाजी गर्ने होइन, संगठनमा समर्पित भई सामूहिक अभ्यास र जनतामाझ काम गर्ने खालका हुन्छन्। बामपन्थी युवा संगठनहरू, जस्तै अनेरास्ववियु, राष्ट्रिय युवा संघ नेपाल आदि, यिनले युवालाई नेतृत्वकर्ताको रूपमा तयार पार्न विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ।

बामपन्थी सोचमा राष्ट्र निर्माण केवल पूर्वाधारको कुरा होइन, त्यसको मूलमा श्रमको मर्यादा, उत्पादनमूलक काम र आत्मनिर्भर अर्थतन्त्र रहन्छ। यसर्थ, युवाहरूलाई सामूहिक सहकारी, कृषि उत्पादन, साना कुटीर उद्योग र वैकल्पिक अर्थतन्त्रको अभ्यासमा होमिनु आवश्यक छ। “उद्यमशीलता भन्ने कुरा निजी नाफाको ढाँचामा होइन, सर्वहारा वर्गको नेतृत्वमा आधारित सामूहिक अर्थतन्त्रको अभ्यास हुनु पर्छ।” यसरी श्रमलाई सम्मान गर्ने युवा नै यथार्थमा समाजवादको मार्गमा अग्रसर हुने वर्ग हो।

राष्ट्रवादको कुरा गर्दा पनि बामपन्थी सोचको व्याख्या फरक देखिन्छ। यहाँ राष्ट्रवाद भनेको उग्र भावनात्मक जति होइन, जनताको हितमा आत्मनिर्भर राष्ट्र निर्माण गर्नु हो। सचेत युवा भनेको त्यो हो जसले राष्ट्रविरोधी सम्झौता, विदेशी हस्तक्षेप, प्राकृतिक सम्पदाको दोहन र नव–उपनिवेशवादको प्रतिकार गर्न सक्दछ। बामपन्थी चेतना बोकेको युवा भनेको राष्ट्रको स्वाभिमान जोगाउन सडकमा उत्रन सक्ने, संसदमा बोल्न सक्ने र समाजमा काम गर्न सक्ने खालको हुन्छ।

यस परिप्रेक्ष्यमा, केवल उमेरले युवा हुनु अब पर्याप्त छैन। बामपन्थी विचारले भनेको ‘युवा शक्ति’ त्यो हो, जो वैचारिक छ, राजनीतिक रूपमा सचेत छ, र सामाजिक न्याय तथा वर्ग–मुक्तिको पक्षमा संगठित छ। “युवालाई नेताको पछि लाग्ने होइन, अब नेतृत्व गर्ने बनाउनु पर्छ। जनतालाई पछ्याउने होइन, जनतासँगै अघि बढ्ने क्रान्तिकारी पुस्ता निर्माण गर्नु पर्छ।”

यस्ता सचेत र क्रान्तिकारी युवाले मात्र समाज परिवर्तन गर्न सक्छन्, भ्रष्टाचार, दलाल पुँजीवाद, तथा असमानताको जरो उखेल्न सक्छन्। नेपालको क्रान्तिकारी इतिहास — राणा शासनविरुद्धको विद्रोहदेखि विभिन्न आन्दोलन सम्म — प्रमाण हो कि जब युवाले चेतना र संगठन लिएर उभिन्छन्, तब मात्र परिवर्तन सम्भव हुन्छ। त्यसैले बामपन्थी विचारधाराले युवालाई केवल संख्यात्मक शक्ति होइन, गुणस्तरीय, राजनीतिक रूपले परिपक्व र विचारधारागत रूपमा स्पष्ट बनाउने अभियानमा जोड दिनुपर्छ।

“आज हामीले नारा दिनुपर्छ – युवा होइन, सचेत युवा! सचेत मात्र होइन, क्रान्तिकारी युवा!!” यही चेतनाले मात्र नेपाललाई समाजवाद उन्मुख समावेशी, न्यायपूर्ण र आत्मनिर्भर राष्ट्र बनाउने दिशामा लैजान सक्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *