राष्ट्रिय युवा संघ नेपालको सक्रियतामा विपद् स्वयंसेवक तालिम सम्पन्न

कैलाली, असार ८ – विपद् व्यवस्थापनमा युवाको भूमिका मजबुत बनाउने उद्देश्यसहित राष्ट्रिय युवा संघ नेपालको सहकार्यमा कैलालीमा ७ दिने समुदाय विपद् स्वयंसेवक तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

सशस्त्र प्रहरी बल, नेपाल न. ३४ गण हे.क्वा. कैलालीको आयोजना तथा राष्ट्रिय युवा संघ नेपालको सहकार्यमा आयोजित यस तालिममा विपद् पूर्वतयारी, उद्धार, राहत तथा पुनर्स्थापना सम्बन्धी महत्वपूर्ण सीप र ज्ञान प्रदान गरिएको थियो।

कार्यक्रमको अध्यक्षता सशस्त्र प्रहरी बल कैलालीका प्रमुख सुरेन्द्र राज रन्जितले गर्नुभएको थियो भने प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष गोगन बहादुर हमाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
त्यस्तै, जिल्ला प्रहरी प्रमुख बालनरसिंह राणा र राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिव अरुण कुँवर बिशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभयो।

तालिममा प्रशिक्षकको रूपमा सशस्त्र प्रहरी निरीक्षक रमेश कुमार सारु, स.प्र.ना.नि कमल प्रसाद जोशी, स.प्र.स.नि चेतेन्द्र मल्ल, स.प्र.ह. रमेश अवस्थी, स.प्र.स.ह. कैलाश चौधरी र स.प्र.ज. रवि चौधरीज्यूहरूले प्रशिक्षण दिनुभएको थियो।

राष्ट्रिय युवा संघ नेपालले युवालाई आपत्कालीन अवस्था र विपद् व्यवस्थापनमा नेतृत्वदायी भूमिका खेल्न सक्षम बनाउने उद्देश्यले तालिममा सक्रिय भूमिका खेलेको हो। संघका युवा प्रतिनिधिहरूले विपद् व्यवस्थापनमा जागरूकता, तत्परता र सामाजिक उत्तरदायित्वका भावना विकास गर्न तालिम निकै उपयोगी भएको बताएका छन्।

राष्ट्रिय युवा संघ नेपालका तर्फबाट सहभागी सम्पूर्ण युवाहरूप्रति विशेष धन्यवाद दिइएको छ भने आगामी दिनमा यस्ता तालिमलाई अझ व्यापक बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *