
जिल्ला प्रहरी कार्यालय पर्साले मधेश प्रदेशभित्र उत्कृष्ट प्रदर्शन गर्दै प्रदेशकै सर्वोत्कृष्ट प्रहरी कार्यालय बन्ने गौरव हासिल गरेको छ। प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको प्रभावशाली नेतृत्वमा भन्सार छली, चोरी तस्करी, लागुऔषध कारोबार, फरार प्रतिवादी पक्राउ तथा मानव बेचबिखनविरुद्धका अभियान प्रभावकारी ढंगले सञ्चालन गरिएपछि यो सफलता सम्भव भएको हो।
जनकपुरमा सम्पन्न मधेश प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित कार्य सम्पादन सम्झौता मूल्यांकन कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमा प्रसाद चतुर्वेदीले पर्सा प्रहरीले ९०.१९५ अंक ल्याएर प्रथम स्थान प्राप्त गरेको जानकारी गराएका थिए।
६० करोडको मालसामान नियन्त्रण, १५०० बढी फरार प्रतिवादी पक्राउ एसपी मिश्रको कमान्डमा कार्यरत पर्सा प्रहरीले हालसम्म करिब ६० करोड रुपैयाँ बराबरको चोरी तस्करी तथा भन्सार छलीका मालवस्तुहरू बरामद गरी राजस्व तथा भन्सार कार्यालयमा बुझाएको छ।
यस्तै, विभिन्न अदालतबाट फैसला भइसकेका १,५११ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनसमेत गरिएको छ। यस क्रममा ७३ वर्ष २ महिना कैद सजाय र ३ करोड ५५ लाख १२ हजार ९५६ रुपैयाँ जरिवाना असुल गरिएको उल्लेख छ।
लागुऔषध कारोबारविरुद्ध ठोस प्रहार लागुऔषध कारोबारमा पर्सा प्रहरीले एकैपटक ३१९ केजी चरेससहित ट्रक र अभियुक्त पक्राउ गर्दै ठूलो सफलता हात पारेको थियो। मिश्रकै कार्यकालमा ६२४ केजी चरेस, १,५६१ केजी गाँजा, १ केजी ५९० ग्राम अफिमसहित १५३ जना लागुऔषध कारोबारीहरू पक्राउ परेका थिए।
मानव बेचबिखनविरुद्ध कडा प्रतिबद्धता मानव बेचबिखन रोकथामतर्फ समेत पर्सा प्रहरीले कडा अभियान सञ्चालन गरेको छ। १२ वटा मुद्दा दर्ता गरी १३ जना अभियुक्त पक्राउ गरिएकाले प्रहरीको प्रतिबद्धता देखिएको छ।
शान्ति सुरक्षा र धार्मिक सहिष्णुताएसपी मिश्रको कार्यकालमा गहवामाई रथ यात्रा, हनुमान जयन्ती, मोहरमलगायत पर्वहरूमा शान्ति सुरक्षा कायम राख्न रणनीतिक योजना अनुसार प्रहरी परिचालन गरिएको थियो। यसले धार्मिक सहिष्णुता कायम राख्न महत्वपूर्ण भूमिका खेलेको छ।
भौतिक संरचना र प्रहरी मनोबलपर्सा प्रहरी कार्यालयको भौतिक संरचना निर्माण, सुधार तथा सौन्दर्यकरणको कार्यमार्फत कार्यालय व्यवस्थित र सुदृढ बनाइएको छ। यसले प्रहरी जवानहरूको मनोबल उच्च बनाउन मद्दत पुर्याएको छ।
२०७७ सालदेखि सुरु गरिएको कार्य सम्पादन सम्झौता प्रणाली अन्तर्गत पहिलोपटक पर्सा जिल्ला प्रहरी कार्यालयले प्रदेशस्तरमै उत्कृष्ट स्थान हासिल गर्नु एसपी मिश्रको कार्यकुशलता र टोलीको समर्पणको प्रतिफल मानिएको छ।
