
बीरगंज,साउन १६। सशस्त्र प्रहरी बल पर्साले भन्सार छलि तस्करी नियन्त्रणमा पुनः उल्लेखनीय सफलता हात पारेको छ। मिति २०८२ साउन १६ गते, वीरगञ्ज महानगरपालिका-२५, चण्डा चोकस्थित नं.१३ गण पर्साबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छलि नेपालतर्फ ल्याइरहेका विभिन्न सामान र मोटरसाइकलहरू नियन्त्रणमा लिएको छ। यस अभियानमा नियन्त्रणमा लिइएका सामग्रीहरूको कुल मूल्य रु. ३,०८,१००।- रहेको छ।सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजाराका अनुसार, टोलीले दुई वटा मोटरसाइकलमा लोड गरिएका रु. १,५८,१००।- बराबरको कपडा र किराना सामान, साथै रु. १,५०,०००।- बराबरको मोटरसाइकलसमेत समावेश रहेको सामग्रीलाई वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको छ। यस प्रकारको कडा कदमले अवैध तस्करी रोक्न महत्त्वपूर्ण योगदान पुर्याएको छ।त्यस्तै, मिति २०८२ साउन १५ गते, सशस्त्र प्रहरी बल र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले विशेष सूचना प्राप्त गर्दै मुरलिचोकस्थित रुद्रानी ट्रेडर्स र राजिव केमिकल एण्ड सप्लायर्सको गोदाममा भारतबाट भन्सार छलि चोरी पैठारी गरी भण्डारण गरिएका रु. ४,७३,५२५।- बराबरको आइसक्रिमको कच्चा पदार्थसमेत नियन्त्रणमा लिएको छ।यसैगरी, सशस्त्र प्रहरी बल बी.ओ.पी. सिर्सियाबाट खटिएको टोलीले रु. ६४,०००/- बराबरको कपडा नियन्त्रणमा लिई वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ। साथै, बी.ओ.पी. ठोरी बाट विभिन्न मितिमा खटिएका टोलीले रु. २६,२००।- बराबरका विविध सामानहरू पनि नियन्त्रणमा लिएका छन्।सशस्त्र प्रहरी बल पर्साको यस्तो सक्रियता र कर्तव्यनिष्ठता समाजमा भन्सार र तस्करी नियन्त्रणमा सकारात्मक प्रभाव पार्दै राष्ट्रिय सुरक्षा र कानुनी पालना सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। यो अभियानले सरकारी राजस्वमा सुधार ल्याउन र तस्करी गतिविधिहरूलाई प्रभावकारी रूपमा रोक्न ठूलो योगदान पुर्याएको छ।सशस्त्र प्रहरी बल पर्साले देखाएको साहसिकता र सतर्कताका लागि हाम्रो हार्दिक शुभकामना। यी सफलताले अन्य सुरक्षा निकायलाई प्रेरित गरिरहेका छन् र राष्ट्रको हितमा प्रगति गर्दैछन्।
