विराटनगर, १९ साउन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आइतबार बसेको कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकले प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था, विपद् व्यवस्थापन, लागू पदार्थको रोकथाम, तथा सीमा क्षेत्रका तस्करी नियन्त्रणलगायत विषयमा महत्वपूर्ण निर्णय गरेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विशेष आतिथ्यमा सम्पन्न बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमलबहादुर थापाले वर्तमान सुरक्षा चुनौती, गर्नुपर्ने कार्य, र सीमा सुरक्षा विषयमा विस्तृत छलफल गरिएको जानकारी दिए ।
बैठकमा लागू पदार्थको बिक्री–वितरण तथा ओसारपसार नियन्त्रण, सुशासन कायम गर्ने, र आगामी चाडपर्वलाई लक्षित गरी बजार अनुगमन तथा कालोबजारी नियन्त्रणलाई प्रभावकारी बनाउने विषयमा कार्ययोजना बनाएर अगाडि बढ्ने निर्णय गरिएको छ ।
मुख्यमन्त्री कार्कीले सीमा क्षेत्रमा भइरहेको तस्करीलाई नियन्त्रण गर्न सुरक्षा निकायहरूलाई थप प्रभावकारी ढंगले परिचालन गर्न निर्देशन दिए । साथै, उनले कोशी प्रदेशका विभिन्न जिल्लामा सञ्चालनमा आउन लागेको रथयात्रा तथा विराटनगरको रथयात्राको सुरक्षा प्रबन्धमा विशेष ध्यान दिन आग्रह गरे ।
‘चाडपर्वहरू नजिकिँदै छन्, यस्तो समयमा बजारमा कृत्रिम अभाव र मूल्यवृद्धि हुन नदिन बजार अनुगमनमा तीव्रता दिन आवश्यक छ,’ मुख्यमन्त्री कार्कीको भनाइ थियो ।
बैठकमा मोरङ, सुनसरी र झापाका प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी प्रमुख, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरू लगायत सुरक्षासम्बन्धी निकायका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
