
पर्सा,साउन २३। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साबाट खटिएको टोलीले भारतबाट अबैध रूपमा ल्याइएका २,१०० वटा प्रतिबन्धित ब्रोइलर कुखुराका चल्लासहित एक जनालाई नियन्त्रणमा लिएको छ।जिल्ला पर्सा, धोविनी गाउँपालिका–१, घोडदौड पिपरा नजिक गरिएको चेकजाँचका क्रममा BR 22 AG 6284 नम्बरको भारतीय मोटरसाइकलमा २१ कार्टुनमा राखी ल्याइँदै गरेको चल्ला बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद चल्लाको अनुमानित मूल्य रु. १,०५,००० र मोटरसाइकलको मूल्य रु. १,००,००० गरी जम्मा रु. २,०५,००० बराबर हुन्छ।घटनामा संलग्न जिल्ला पर्सा, जगरनाथपुर गाउँपालिका–१, दशौता निवासी १८ वर्षीय गुल्फान आलम मियालाई नियन्त्रणमा लिइएको छ। बरामद गरिएको प्रतिबन्धित चल्लालाई नेपाल प्रहरी, पत्रकार, र स्थानीय जनप्रतिनिधिको रोहबरमा पेरीमिटर भित्र खाल्टो खनी नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।मोटरसाइकल र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको छ।

