काठमाडौं । नाडा अटो शो २०२५ मा नामीले आफ्नो बहुप्रतीक्षित नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी, नामी भिगो, सार्वजनिक गरेको छ। यससँगै कम्पनीले विद्युतीय सवारी साधनको क्षेत्रमा नयाँ कोसेढुङ्गा थपेको छ। नामी ०१ को सफलतापछि बजारमा आएको यो मोडल प्रिमियम सुविधा, अत्याधुनिक प्रविधि र किफायती मूल्यको संयोजनका साथ प्रस्तुत गरिएको छ।
नामी भिगो E2 र E2+ दुई भेरियन्टमा उपलब्ध छ। कम्पनीका अनुसार मोडल आधुनिक शहरी जीवनशैलीलाई ध्यानमा राखेर तयार पारिएको हो, जसले स्टाइल, व्यावहारिकता र विद्युतीय दक्षताको उत्तम मिश्रण प्रदान गर्दछ। यसले सेग्मेन्टमै पहिलोपटक आउने विभिन्न सुविधा, जस्तै “Heaven and Earth” टेलगेट, वेलकम तथा मेमोरी सिट, संगीतसँग सिंक हुने एम्बियन्ट लाइटिङ, 3C फास्ट चार्जिङ प्रविधि र बाहिरी स्पिकर प्रदान गरेको छ।
चार्जिङको दृष्टिले, नामी भिगो १६७ DC फास्ट चार्जिङमार्फत ३०–८० प्रतिशत क्षमतासम्म जम्मा १८ मिनेटमै चार्ज गर्न सकिन्छ। यसले शहरी र लामो दूरीका यात्रालाई सहज बनाउने कम्पनीको उद्देश्य पूरा गर्छ।
लक्जरी र प्रविधिको दृष्टिकोणले पनि भिगो अग्रणी मोडल मानिन्छ। यसमा लेभल २ ADAS, वायरलेस चार्जिङ, वाईफाई कनेक्टिभिटी, हिटेड र भेन्टिलेटेड सिट, अटोमेटिक हाई/लो बीम हेडलाइट, इन्टेलिजेन्ट एसी, ड्राइभ मोड, भ्वाइस कन्ट्रोल, अडाप्टिभ क्रुज कन्ट्रोल र ३५ भन्दा बढी इन्टेलिजेन्ट युटिलिटी स्पेस जस्ता सुविधा समावेश छन्।
डिजाइनको दृष्टिले पनि नामी भिगो आकर्षक छ। “म्याजिक क्युब” एक्सटेरियर, T आकारका एलईडी हेडलाइट, ट्राइएङ्गुलर पिक्सेल टेललाइट र डुअल–टोन १८ इन्च रिम्सले आधुनिक रूप प्रदान गरेको छ। इन्टेरियरमा मिनिमलिस्ट तर स्मार्ट केबिन, १२.८ इन्च इन्फोटेनमेन्ट स्क्रिन, ८.८ इन्च डिजिटल इन्स्ट्रुमेन्ट प्यानल, मुनरुफ (E2+ मा), वायरलेस चार्जिङ र ३६० डिग्री क्यामरा उपलब्ध छन्।
मूल्यको दृष्टिले, E2 भेरियन्ट रु. ३८,९९,००० र E2+ भेरियन्ट रु. ४१,९९,००० तोकिएको छ। तर नाडा अटो शो २०२५ का लागि विशेष लन्च अफर अनुसार E2 रु. ३७,९९,००० र E2+ रु. ४०,९९,००० मा खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
