अन्तर्राष्ट्रिय स्तरमा नबिल बैंकको दिगो बैंकिङ अभ्यास प्रशंसा, युरोमनी अवार्ड जित्यो

काठमाडौं । नबिल बैंकले ‘युरो मनी अवार्ड फर एक्सिलेन्स २०२५: बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’ प्राप्त गरेको छ । युरो मनी म्यागजिनले प्रत्येक वर्ष प्रदान गर्ने यो अवार्ड बैंकिङ क्षेत्रको प्रतिष्ठित अन्तर्राष्ट्रिय मानिन्छ ।

नबिल बैंकलाई यो अवार्ड दिगो बैंकिङमा सञ्चालन गरिएका कार्यक्रमहरूको मूल्याङ्कनका आधारमा प्रदान गरिएको हो । बैंकले ग्राहकमैत्री सेवा, प्रविधिको प्रभावकारी प्रयोग र दिगोपनामा देखाएको प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय स्तरमा उच्च प्रशंसा गरिएको छ ।

बैंकले विगत पाँच वर्षदेखि नेपालको दिगो विकास लक्ष्य (एसडिजी)लाई आत्मसात गर्दै वातावरणीय संरक्षण, सामाजिक समावेशीकरण, मानव अधिकारको संरक्षण र सुशासनलाई आफ्नो रणनीतिक आधार बनाउँदै आएको छ । यस क्रममा कार्बन फुटप्रिन्ट घटाउने, उत्तरदायी बैंकिङ प्रवद्र्धन गर्ने तथा वित्तीय साक्षरता विस्तारलाई प्राथमिकतामा राखिएको छ ।

युरोमनी म्यागजिनले बैंकिङ क्षेत्रको अध्ययन र विश्लेषणपछि नबिल बैंकलाई उत्कृष्ट ठहर गर्दै अवार्ड दिएको हो । यसअघि पनि नबिल बैंक सन् २०१०, २०२०, २०२१, २०२२ र २०२४ मा विभिन्न विधामा युरोमनी अवार्डबाट सम्मानित भइसकेको छ ।

हाल नबिल बैंकले २५ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२१ एटिएममार्फत सेवा दिइरहेको छ । चार दशकदेखि नेपाली बैंकिङ क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको नबिलले नवीनतम सेवा सुरु गर्ने र दिगो बैंकिङ अभ्यासलाई संस्थागत गर्ने कार्यमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *