दुग्ध सहकारी संघद्वारा किसान हितमा आन्दोलन घोषणा

काठमाडौं । केन्द्रीय दुग्ध सहकारी संघले दुग्ध उत्पादक किसानका हित र हकहित सुनिश्चित गर्न शान्तिपूर्ण आन्दोलन सुरु गर्ने घोषणा गरेको छ । संघले शुक्रबार काठमाडौं बानेश्वरस्थित आफ्नो केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै किसानको श्रमको उचित मूल्य दिलाउन सरकार र सम्बन्धित निकायलाई दबाब दिने उद्देश्यसहित आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । कार्यक्रममा संघका अध्यक्ष अमर कुंवरले अध्यक्षता गरेका थिए भने महासचिव राम आचार्यले सञ्चालन गरेका थिए ।

पत्रकार सम्मेलनमा संघले दुग्ध किसानका प्रमुख मागहरू सार्वजनिक गरेको छ । दुधको न्यूनतम समर्थन मूल्य तोक्ने, दुध संकलनदेखि प्रशोधन र वितरणसम्मको प्रक्रियामा पारदर्शिता र उचित भुक्तानी सुनिश्चित गर्ने, किसानलाई समयमा भुक्तानी गर्न बाध्यकारी व्यवस्था गर्ने, दुग्ध सहकारीमाथि लागेको अत्याधिक कर तथा प्रशासनिक दबाब हटाउने, र दुधजन्य पदार्थको आयात नियन्त्रण गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने माग संघले अघि सारेको छ ।

यस्तै, संघले सरकारसँग हुने वार्तामा आफ्नो औपचारिक प्रतिनिधित्वको अधिकार सुनिश्चित गर्नुपर्नेमा पनि जोड दिएको छ । किसानको श्रम र उत्पादनलाई बेवास्ता गरिँदा दुध उद्योग संकटतर्फ धकेलिएको भन्दै तत्काल सुधारात्मक कदम चाल्नुपर्ने चेतावनी संघले दिएको छ ।

आन्दोलनका कार्यक्रमबारे जानकारी दिंदै संघले पहिलो चरणमा चेतावनीस्वरूप धर्ना र विरोध प्रदर्शन गर्ने जनाएको छ । तर, यदि माग सम्बोधन नभए क्रमशः देशव्यापी आन्दोलन र दुध आपूर्ति अवरोध जस्ता कडा कदम चाल्नुपर्ने अवस्था आउने चेतावनी पनि दिएको छ ।

संघले अन्तिममा सरकार, सम्बन्धित निकाय र सरोकारवालालाई किसानको हितमा तत्काल सकारात्मक संवाद गर्न आह्वान गरेको छ । दुग्ध किसानको श्रमको उचित मूल्य र सम्मान सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने दृढ अडान समेत संघले सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *