काठमाडौँ । राष्ट्रिय खाद्य बैंक लिमिटेडले तिस करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ। यसका लागि बैंकले इश्यू म्यानेजरको जिम्मेवारी ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई दिने सम्झौता गरेको हो।
शुक्रबार काठमाडौंको कोटेश्वर–३२, नरेफाटस्थित कार्यालयमा आयोजित विशेष कार्यक्रममा सम्झौतापत्रमा राष्ट्रिय खाद्य बैंक लिमिटेडका संस्थापक अध्यक्ष शङ्करनाथ उप्रेति, कम्पनी सचिव जिवनाथ धिताल र ग्लोबल आईएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले हस्ताक्षर गरेका थिए।
समारोहमा संस्थापक अध्यक्ष उप्रेतिाले भने, “हाम्रो बैंकलाई अझै सशक्त बनाउन र सर्वसाधारणलाई शेयरमार्फत जोड्ने उद्देश्यले आईपीओ ल्याउन लागिएको हो। यसले संस्थागत पारदर्शिता र जनविश्वास दुवैलाई मजबुत पार्नेछ।”
त्यस्तै, कम्पनी सचिव धितालले आईपीओ मार्फत आमजनताले खाद्य बैंकमा लगानी गर्ने अवसर पाउने बताए। उनले थपे, “हाम्रो लक्ष्य स्वदेशी पूँजीलाई उत्पादनमुखी क्षेत्रमा परिचालन गर्नु हो। यस प्रक्रियाले हाम्रो दीर्घकालीन योजनामा गति ल्याउनेछ।”
ग्लोबल आईएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लुइँटेलले भने, “इश्यू म्यानेजरको हैसियतमा हामीले यस आईपीओलाई सफ्ट, पारदर्शी र लगानीकर्तामैत्री बनाउनेछौं। खाद्य बैंक जस्तो संस्थाको विस्तारमा सघाउन पाउनु हामीका लागि गर्वको विषय हो।”
