कांग्रेसभित्र अन्योल, राज्य व्यवस्था समितिको सभापति चयनमा ढिलाइ

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचनको सूचना आइतबार दिनभर प्रयास गरे पनि प्रकाशन हुन सकेन। सभामुखको सचिवालयका अनुसार अन्य दलको दाबी नरहेको अवस्थामा सभामुखले नेपाली कांग्रेसका प्रमुख सचेतकसँग दुई पटक छलफल गरेका थिए । तर, आन्तरिक छलफल आवश्यक रहेको भन्दै प्रमुख सचेतकले सूचना रोकिदिन आग्रह गरेका थिए ।

सचिवालयका अनुसार कांग्रेसले आज बिहान पदाधिकारी बैठकमार्फत अन्तिम टुंगो लगाउने प्रतिबद्धता जनाएको छ। सभामुखले भने आज बिहानै सूचना जारी गर्नैपर्ने नियमावलीको बाध्यात्मक व्यवस्था रहेको स्मरण गराएका छन्। सभामुखको भनाई उद्धृत गर्दै सचिवालयले भन्यो, ‘विगतमा पनि तोकिएको समयमा सभापति चयन हुन नसक्दा राज्य व्यवस्थाको बैठक बस्नै नसक्ने गलत नजिर बनेको थियो, त्यसलाई दोहोरिन दिइँदैन।’

आजै बिहान कांग्रेसले निर्णय गरेपछि नियमअनुसार सभापति निर्वाचनको प्रक्रिया अघि बढाइने सचिवालयले स्पष्ट पारेको छ ।  गत साउन २८ गते सङ्घीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गडबडी गरेको पाइएपछि विवादमा परेका सभापति रामहरि खतिवडाले प्रतिनिधिसभा बैठकमा पदबाट राजीनामा दिएका थिए । प्रतिनिधिसभा नियमावलीको नियम १७७ को उपनियम ५ मा संसदीय विषयगत समितिको सभापति पद रिक्त भएको १५ दिन भित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *