काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र पर्ने सानो भर्याङमा अन्य नगरपालिकाबाट सामान लिएर आएको ट्रकलाई नागार्जुन नगरपालिकाको कर संकलन केन्द्रले रोकेर जबरजस्ती पैसा असुलेको घटना बाहिर आएको छ। यस प्रकरणमा प्रहरीको समेत मिलेमतो रहेको आरोप लागेको छ।
स्वयम्भू प्रहरी बृतका प्रमुख डिएसपी उद्दव सिंह भाटले नागार्जुन नगरपालिकाको कर संकलन केन्द्रलाई संरक्षण गरेको देखिएको स्थानीय स्रोतले जनाएको छ। ना ०६ ख २४२३ नम्बरको उक्त ट्रकलाई ठेक्का पाएका व्यक्तिहरूले स्वयम्भू प्रहरीसँगको सेटिङमा रोकाएर रकम तिर्न दबाब दिएका थिए।
चालकले रकम तिर्न अस्वीकार गरेपछि प्रहरीले नै ट्रक नियन्त्रणमा लिएर भगवानपाउस्थित प्रहरी कार्यालयमा राखेको बताइएको छ। यस घटनाले व्यापारी र चालकहरू आक्रोशित बनेका छन्।
व्यापारी तथा चालकहरूले काठमाडौं महानगरपालिका क्षेत्रभित्र अर्कै नगरपालिकाको नाममा कर असुली हुनु गैरकानुनी भएको दाबी गर्दै तत्काल यस प्रकारको गतिविधि रोक्नुपर्ने चेतावनी दिएका छन्। उनीहरूले यस्तो अवैध असुलीले व्यापारमा ठुलो असर पारेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
यसबारे प्रहरीले भने हालसम्म आधिकारिक रूपमा कुनै टिप्पणी गरेको छैन। स्थानीय स्तरमा भने प्रहरी र ठेकदारको मिलेमतोमा असुली भइरहेको भन्दै कडा आलोचना भइरहेको छ।
