सिडियो गणेश अर्यालको मानवीय नेतृत्व, प्रशासनिक कर्मठता र समाजप्रतिको सेवा भावना प्रशंसनीय

चितवन खण्डमा आएको भीषण पहिरोका कारण सयौं यात्रुहरू बाटोमै अलपत्र परेका बेला चितवनका प्रमुख जिल्ला अधिकारी (सिडियो) गणेश अर्याल आफैं घटनास्थलमा पुगेर यात्रुहरूको सेवामा खटिनुभएको घटना अहिले देशभर प्रशंसा गरिएको छ। साधारणतया प्रशासनिक नेतृत्व कार्यालयमै सीमित हुने प्रचलन रहे पनि अर्यालको व्यवहारिक नेतृत्वले ‘सकारात्मक प्रशासन’ कस्तो हुन्छ भन्ने दृष्टान्त प्रस्तुत गरेको छ।

पहिरो अवरोधित सडकमा यात्रुहरू भोक, प्यास र असहज परिस्थितिमा फसेका बेला अर्याल आफैं चाउचाउ, बिस्कुट र पानी बोकेर घटनास्थल पुगे। उहाँसँगै प्रहरी उपरीक्षक गोविन्द पुरी, नेपाली सेनाका कर्णेल दिनेश राना, सशस्त्र प्रहरी उपरीक्षक धीरेन्द्र न्यौपाने, र ट्राफिक प्रहरी निरीक्षक गायत्रीराज शर्मा समेत घटनास्थलमै खटिएका थिए। सुरक्षाकर्मीहरू उद्धार कार्यमा जुटिरहेका बेला अर्यालले यात्रुहरूको तत्काल आवश्यकतालाई बुझ्दै आफैं खाजा र पानी वितरण गर्ने काम गर्नु भएको थियो।

त्यस क्रममा चितवनका समाजसेवी युवा व्यवसायी चन्दन अग्रवालले नि:शुल्क खाजा र पानी उपलब्ध गराइदिनुभयो। उक्त सहयोगलाई प्रशासन र सुरक्षाकर्मीमार्फत यात्रुहरूलाई वितरण गर्दा तत्काल राहत मिल्यो। कठिन घडीमा प्रशासन, सुरक्षाकर्मी र समाजसेवीहरूको यस्तो सहकार्यले यात्रुहरूलाई मात्र होइन, आम जनतालाई समेत ‘मानवीयता अझै जीवित छ’ भन्ने सन्देश दिएको छ।सिडियो अर्यालको यो सक्रियता केवल चितवनमा मात्र सीमित छैन। उहाँ जहाँ जहाँ कार्यरत रहनुभयो, त्यहाँ जनताप्रतिको उत्तरदायित्व र संवेदनशीलताले उहाँलाई फरक बनाइदिएको छ।

केही समयअघि पर्सा जिल्लामा कार्यरत रहँदा पनि उहाँले प्रशासनलाई जनमुखी बनाउन अनेकौं सकारात्मक कदम चाल्नुभएको थियो।पर्सामा रहँदा सिडियो अर्यालले जिल्ला प्रहरी कार्यालयका प्रमुख, स्थानीय तहका जनप्रतिनिधि र सामाजिक संघ–संस्थाहरूसँग सहकार्य गर्दै नशा नियन्त्रण, महिला हिंसा न्यूनीकरण, साइबर अपराध नियन्त्रण लगायतका अभियानलाई बलियो बनाउनुभएको थियो।

उहाँको पहलमै जिल्ला प्रशासन कार्यालय पर्सा ‘खुला प्रशासन’ को अभ्यास गर्ने क्रममा जनताका समस्या सुन्ने र तत्काल समाधान खोज्ने प्लेटफर्ममा परिणत भएको थियो।त्यसैगरी, पर्सा जिल्लामा आएको बाढी–पहिरो, डुबान र विपद् व्यवस्थापनका कठिन घडीमा अर्याल आफैं स्थलगत अवलोकनमा पुगेर राहत वितरण र पीडितलाई सुरक्षित स्थानमा पुर्‍याउने काममा नेतृत्वदायी भूमिका खेल्नुभएको थियो।

उहाँको सक्रियताले प्रशासनलाई मात्र होइन, सर्वसाधारणलाई समेत आत्मविश्वास दिलाउने काम गरेको थियो।पर्सामा सेवा समूह नेपालसहितका सामाजिक संघसंस्थाहरूसँग सहकार्य गर्दै अर्यालले विभिन्न सचेतना कार्यक्रमलाई प्रोत्साहन दिनुभएको थियो। विद्यालयस्तरमै विद्यार्थीलाई साइबर अपराध, बालविवाह र मादक पदार्थको दुरुपयोग विरुद्ध सचेत गराउने अभियानलाई उहाँले महत्व दिनुभएको थियो।यस्तो सक्रिय नेतृत्वका कारण उहाँ पर्सा जिल्लामा लोकप्रिय प्रशासकका रूपमा स्थापित हुनुभएको थियो। स्थानीय नागरिकदेखि जनप्रतिनिधिसम्मले उहाँलाई ‘सजिलै भेटिने, समस्या सुन्ने र समाधान गर्न तत्पर प्रशासक’ को रूपमा सम्झने गरेका छन्।

आज चितवनमा देखाइएको उहाँको मानवीय नेतृत्वले फेरि एकपटक अर्याललाई ‘जनताको प्रशासक’ को रूपमा स्थापित गरिदिएको छ। यात्रुहरूको पीडामा आत्मसात् गर्दै उनीहरूको भोक, प्यास मेटाउन आफ्नै हातले चाउचाउ र बिस्कुट बाँड्ने प्रशासक पाउनु देशकै लागि गौरवको कुरा हो।अर्यालजस्ता कर्मचारीहरूले प्रशासनलाई मात्र कठोर कानून कार्यान्वयन गर्ने निकाय नभई ‘जनसेवा गर्ने घर’ का रूपमा पुनःस्थापित गर्ने अवसर मिलाएको छ। यसले भावी पुस्तालाई पनि नेतृत्व कस्तो हुनुपर्छ भन्ने उदाहरण दिएको छ।

चितवनमा भएको उक्त घटनाले पर्सामा उहाँले देखाउनुभएको जनमुखी कार्यशैलीसँगै जोडिँदा अर्यालको नेतृत्व अझै उच्च स्थानमा पुगेको छ। कठिन परिस्थितिमा पनि नागरिकलाई नछाड्ने, विपद् व्यवस्थापनलाई व्यवहारिक रूपमा अघि बढाउने र समाजसँगै सहकार्य गर्ने उहाँको सोच नै उहाँको सबैभन्दा ठूलो शक्ति हो।नेपालजस्ता चुनौतीपूर्ण परिस्थितिमा काम गर्ने मुलुकमा यस्तो सक्रिय प्रशासनिक नेतृत्व निकै दुर्लभ छ।

यही कारण गणेश अर्यालजस्ता अधिकारीहरूलाई जनता विशेष सम्मानका साथ हेर्ने गर्छन्।चितवनमा यात्रुहरूको सेवामा खटिएको यो दृश्यले प्रशासनिक नेतृत्वलाई ‘सत्ता र शक्तिको केन्द्र’ होइन, ‘सेवा र सहयोगको केन्द्र’ हुनुपर्छ भन्ने प्रेरणा दिएको छ।

यसैगरी, पर्सामा देखाइएको उहाँको योगदानले प्रशासन र समाजबीचको दूरी घटाउने महत्वपूर्ण कार्य गरेको थियो। त्यो अनुभव र कार्यशैली नै अहिले चितवनमा पनि प्रत्यक्ष देखिएको छ।गणेश अर्यालको यस्तो कर्मठता, संवेदनशीलता र मानवीयता अहिले केवल चितवन वा पर्सामै सीमित छैन, यो देशैभर प्रेरणाको स्रोत बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *