
बीरगञ्ज, असोज ४। जेनजी आन्दोलनका क्रममा अराजक समूहले गरेको तोडफोड र आगजनीले ध्वस्त बनेका संरचना पुनर्निर्माणका लागि वीरगन्ज महानगरपालिकाले आफ्नो चालू आर्थिक वर्षको बजेटलाई पुनः प्राथमिकता दिने भएको छ।
शनिबार सम्पन्न १८औं विशेष नगरसभाले २०८२/८३ का लागि विनियोजन गरिएको बजेट संशोधन गरी तत्काल पुनर्निर्माणमा लगानी गर्ने निर्णय सर्वसम्मत पारित गरेको हो।मेयर राजेशमान सिंहले विशेष नगरसभामा पुनर्निर्माणसम्बन्धी प्रस्ताव पेस गरेका थिए भने प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले निर्णयबारे जानकारी दिँदै महानगरको सम्पत्ति खरानी बनेको अवस्थाले सेवा प्रवाहमा चुनौती देखिएको बताए।
गत भदौ २४ गतेको अराजक प्रदर्शनका क्रममा महानगर कार्यालय भवन, गाडी र अन्य संरचनामा गरिएको तोडफोड, आगजनी र लुटपाटबाट करिब १ अर्ब १५ करोड रुपैयाँभन्दा बढी क्षति भएको विवरण सार्वजनिक गरिएको थियो।
यसअघि १७औं नगर परिषदले ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट पारित गरेको भए पनि विशेष नगरसभाले सामाजिक विकास तथा पुँजीगत योजनातर्फ विनियोजित रकमलाई स्थगित गरी पुनर्निर्माणतर्फ स्थानान्तरण गर्ने निर्णय गरेको हो। कर्णका अनुसार कार्यपालिका बैठकमार्फत अब पुनर्निर्माण, भौतिक संरचना पुनःस्थापना र प्रशासनिक क्षमता अभिवृद्धिमा बजेट प्रयोग हुनेछ।
त्यसैगरी, शनिबारकै बैठकले आन्दोलनका क्रममा काठमाडौंमा प्रहरीको गोली लागेर शहादत प्राप्त गरेका वीरगन्ज महानगरपालिका–१२ का युवा असहाब आलमका परिवारलाई ५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय पनि गरेको छ।
