
पर्सा, असोज ७ । भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको स्रोत नखुलेको ठूलो परिमाणको नगद रकमसहित सशस्त्र प्रहरीले पर्सामा एक जनालाई नियन्त्रणमा लिएको छ।मंगलबार दिउँसो करिब १:५० बजेतिर वीरगञ्ज महानगरपालिका–१६, भन्सार मेनगेट क्षेत्रमा चेकजाँच गर्ने क्रममा BR 05 BF 0469 नम्बरको मोटरसाइकल रोक्दा उक्त रकम बरामद भएको हो।
सशस्त्र प्रहरी बल नं.१३ गण पर्साका प्रहरी नायब निरीक्षक सुजय कुमार सिंहको कमाण्डमा खटिएको तीन जनाको टोली र गुल्म वीरगञ्जबाट प्रहरी नायब निरीक्षक मोहमद मुस्ताक अलीको कमाण्डमा खटिएको सात जनाको संयुक्त टोलीले चेकजाँच गर्दा करिब रु. ८ लाख ७ हजार नगद भेटिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
बरामद नगद यसप्रकार छः१००० दरका नोट — ५१५ ५०० दरका नोट — ५७२ वटा १०० दरका नोट — ६० वटामोटरसाइकलसहित नियन्त्रणमा लिइएको व्यक्तिको परिचय पर्सा जिल्ला सखुवापर्सौनी गाउँपालिका–५ बस्ने करिब ४३ वर्षीय राजेश कुमार साह तेली भएको प्रहरीले पुष्टि गरेको छ।
बरामद मोटरसाइकलको अनुमानित मूल्य १ लाख ५० हजार रुपैयाँ बराबर रहेको जनाइएको छ।स्रोत नखुलेको नगद र मोटरसाइकलसहित पक्राउ परेका साहलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउनका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने कार्य भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
