वीरगञ्जमा ८ केजी गाँजा सहित एक व्यक्ति पक्राउ

वीरगञ्ज, २३ कार्तिक ।जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका–३२ चोर्नीस्थित खेदु महतो धानुकले सञ्चालन गरेको किराना पसलबाट प्रहरीले ठूलो परिमाणमा लागु औषध गाँजा बरामद गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार दिउँसो करिब २ बजे खानतलासी गर्दा पसल पछाडि पट्टि रहेको कोठामा निलो रंगको प्लास्टिकको ड्रमभित्र लुकाइछिपाइ राखिएको करिब ८ केजी गाँजा फेला परेको हो।

गाँजा बिक्री–वितरणसहित कारोबार गरिरहेको आरोपमा पसल सञ्चालक खेदु महतो धानुकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। निजविरुद्ध लागु औषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गराई पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार स्थानीय क्षेत्रमा लागु औषध नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिएको छ र सोही अभियान अन्तर्गत उक्त कार्यवाही गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *