पाल्पा । पाल्पाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार ठाकुर गैरेले अघिल्लो कार्यकालमा सुरु भएका विकास योजनालाई निरन्तरता दिँदै समग्र पाल्पाको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा आफू पूर्ण रूपमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
२०७९ सालको निर्वाचनमा पाल्पावासीले अत्यन्त उच्च मनोबलका साथ ठुलो मत दिएर आफूलाई विजयी गराएको स्मरण गर्दै गैरेले ५ वर्षका लागि निर्वाचित गरिए पनि प्रतिनिधिसभा ३ वर्षमै विघटन हुँदा अपेक्षित समय काम गर्न नपाएको बताएका हुन् । यद्यपि, करिब पौने तीन वर्षको अवधिमा पाल्पावासीले राखेको विश्वासअनुसार आफूले जिम्मेवारी पूरा गरेको महसुस रहेको उनको भनाइ छ।
‘काम गर्ने क्रममा केही कमजोरी भएका हुन सक्छन्,’ गैरेले भने, ‘तर विगतका कमजोरीबाट पाठ सिक्दै अब अझ दृढ सङ्कल्पका साथ पाल्पामा सुरु भएका विकासका काम पूरा गर्ने प्रतिबद्धता लिएको छु।’
उनले पाल्पाको आर्थिक विकाससँगै पर्यटन, शिक्षा, स्वास्थ्य, भाषा, संस्कृति र समग्र जिल्लाको विकासका लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गर्ने उल्लेख गरे । अधुरा योजना पूरा गर्ने, बाँकी सपनालाई यथार्थमा बदल्ने र नयाँ आशा बोकेर पाल्पाको समृद्ध भविष्य निर्माणका लागि पुनः चुनावी मैदानमा आएको गैरेले स्पष्ट पारे ।
