कोशीमा चुनावी अभियानमा सक्रिय कुलमान घिसिङ

विराटनगर । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ यतिबेला कोशी प्रदेशका विभिन्न जिल्लामा चुनावी अभियानमा सक्रिय छन् । बुधबार झापाबाट सुरु भएको उनको अभियान विर्तामोड, दमक, मोरङको पथरी, सुनसरीको धरान–इटहरी हुँदै विराटनगर आइपुगेको हो ।

अभियानका क्रममा उनले पाँच वर्षभित्र देखिने परिणाम दिने राजनीतिक अभ्यास अघि सार्ने सन्देश दिएका छन् । ऊर्जा क्षेत्रमा हासिल गरेको अनुभवलाई राजनीतिक पूँजीका रूपमा प्रस्तुत गर्दै घिसिङले अब देशव्यापी रूपान्तरणको लक्ष्य राखेको बताएका छन् ।

विराटनगरस्थित मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा पार्टीको सम्पर्क कार्यालय उद्घाटन गर्ने क्रममा बिहीबार साँझ उनले सुशासन, उत्पादनमुखी अर्थतन्त्र र युवा रोजगारीलाई आफ्नो राजनीतिक एजेन्डाको केन्द्रमा राखेको स्पष्ट पारे ।

‘ऊर्जा क्षेत्रमा अँध्यारो हटायौँ, अब राज्य सञ्चालनमा देखिएको अँध्यारो हटाउने समय आएको छ,’ उनले भने, ‘पाँच वर्षलाई परिणाम दिने निर्णायक अवधि बनाउँछौँ ।’

उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच देशभर संयुक्त उम्मेदवारी भएको जानकारी दिँदै उनले मोरङ–६ मा २५ वर्षीय वसन्त बुढाथोकी उम्मेदवार रहेको उल्लेख गरे । युवा नेतृत्वलाई अघि सारेर परम्परागत राजनीतिक संस्कारलाई चुनौती दिने रणनीतिमा पार्टी रहेको उनको संकेत थियो ।

घिसिङले भ्रष्टाचार, बेरोजगारी र घट्दो उत्पादनशीलतालाई देशका मुख्य समस्या औँल्याउँदै कडा नीतिगत सुधारमार्फत समाधान खोजिने बताए । उनले जेनजी पुस्ताको आकांक्षा बोकेको शक्ति रूपमा पार्टीलाई प्रस्तुत गर्दै युवाहरूको सक्रिय सहभागिताबाट दीर्घकालीन परिवर्तन सम्भव हुने दाबी गरे । ऊर्जा, पूर्वाधार, औद्योगिक विकास र आर्थिक आत्मनिर्भरताका कार्यक्रमलाई प्राथमिकतामा राखिएको उनले बताए ।

कार्यक्रममा मोरङ–६ का उम्मेदवार वसन्त बुढाथोकीले वर्तमान राजनीतिक अवस्थाप्रति नागरिक निराश रहेको उल्लेख गर्दै आफूले सुशासन र रोजगारीको स्पष्ट खाका प्रस्तुत गरेको उनले बताए ।

कोशी प्रदेशका विभिन्न सहरमा पुगेर घिसिङले आफ्नो विगतको कार्यअनुभवलाई भविष्यको राजनीतिक योजनासँग जोड्ने प्रयास गरिरहेका छन् । पाँच वर्षभित्र देखिने परिवर्तनको प्रतिबद्धतासहित उनी मतदातामाझ पुगिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *