जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद

भक्तपुर । बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई बागमती प्रदेश सरकारले दुई लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । वैशाख २ गते चौथोपटक जिब्रो छेड्न लागेका श्रेष्ठलाई मंगलबार बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले प्रदेश सरकारका तर्फबाट नगद दुई लाख रुपैयाँसहित सम्मान गरेका हुन् ।

जात्रामा जिब्रो छेड्ने व्यक्तिलाई मुख्यमन्त्री जोखिम संस्कृति संरक्षण तथा प्रवर्धन कार्यक्रमअन्तर्गत उक्त रकमसहित जिब्रो छेड्नेलाई सम्मान गरिएको मन्त्री श्रेष्ठले जानकारी दिए । गत वर्षको इन्द्रजात्रामा भएको जिब्रो छेड्ने जात्रामा पहिलोपटक वीरेन्द्रभक्त गजु श्रेष्ठलाई यो पुरस्कार प्रदान गरिको थियो ।

‘जिब्रो छेड्ने परम्पराको निरन्तरताका लागि काम गर्ने व्यक्तिहरूको सङ्ख्या कम हुँदै गएको छ । निकट भविष्यमा यो जात्रा लोप हुन नदिन र ऐतिहासिक जात्रालाई लोपोन्मुख सांस्कृतिक सम्पदाको रूपमा संरक्षण गर्न वर्षमा २ पटक आयोजना हुने जात्रामा सहभागी भई जिब्रो छेडाउने व्यक्तिलाई प्रोत्साहन रकमको व्यवस्था भएको हो’, उनले भने ।

मध्यपुर थिमिका दुई स्थानमा जिब्रो छेडाउने परम्परा छ । बोडेमा वैशाख २ गते जिब्रो छेडिन्छ भने थिमिको द्विगुटोलमा भाद्र शुक्ल चतुर्दशीमा जिब्रो छेडिन्छ । यो जात्राले देशमा रोग व्याधि नलाग्ने, बालीनाली सप्रिने र अनिकालजस्ता प्राकृतिक विपत्तिबाट जोगिने जनविश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *