काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु निर्वाचन आयोगको संवैधानिक दायित्व भएको बताएका छन् । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिको कार्यक्रममा बोल्दै उनले हाल सम्पन्न निर्वाचन आवधिक नभई अग्रिम रूपमा घोषणा गरिएको बाध्यात्मक निर्वाचन भएको स्पष्ट पारे ।
उनका अनुसार पाँच वर्षमा हुनुपर्ने निर्वाचन करिब ४० महिनामै सम्पन्न गर्नुपर्ने अवस्था राष्ट्रपतिबाट घोषणा भएपछि सिर्जना भएको थियो । निर्वाचन घोषणा गरिँदा तोकिएको मितिमा निर्वाचन सम्भव छैन भन्ने व्यापक शंका रहेको उल्लेख गर्दै उनले आयोगले उपलब्ध सीमित स्रोत साधन र समयको अधिकतम उपयोग गर्दै निर्वाचन सम्पन्न गरेको बताए ।
उनले भने, ‘यो निर्वाचन आवधिक निर्वाचन थिएन, अग्रीम र अलिकति छिटो घोषणा भएको पाँच वर्षमा हुनुपर्ने निर्वाचन लगभग ४० महिनाभित्र गरिसक्नुपर्ने भनेर सम्माननीय राष्ट्रपतिबाट घोषणा भएको निर्वाचन थियो । र जुन मितिमा निर्वाचन घोषणा भएको थियो त्यसलाई कतिपयले तोकेको मितिमा निर्वाचन सम्भव छैन भन्ने निर्वाचनप्रति आशंका व्यक्त गरियो । आयोगको संवैधानिक दायित्व र कर्तव्य तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नुपर्ने थियो ।
भएको स्रोत साधनलाई बढी भन्दा बढी सदुपयोग गर्नुपर्ने, सिमित समयलाई बढी सदुपयोग गर्नुपर्ने, त्यो समयभित्र निर्वाचन सम्पन्न गर्न नसकेको खण्डमा मुलुकको भविष्य अनिश्चित हुने भएकाले हामी जुटेका हौं । भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनको रुपरेखा पनि हामीले अध्ययन गरेर निर्वाचनको तयारी गरेका थियौं । आकाशमा आगोको ज्वाला, धुँवा, सडकमा खरानी बाहेक केही नभएको अवस्थाले निर्वाचन बााध्यात्मक थियो । निर्वाचनको विकल्प निर्वाचन नै थियो र निर्वाचन भयो ।’
भण्डारीले निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न नसकिएको भए मुलुकको भविष्य अन्योलमा पर्ने खतरा रहेको बताए । उनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको उदाहरण दिँदै त्यतिबेला देशभर अस्थिरता, आगजनी र धुवाँले भरिएको अवस्था रहेको स्मरण गरे । निर्वाचनप्रति व्यापक आशंका रहेका कारण आयोगलाई काम गर्न सहज नभएको उनले स्वीकार गरे । भदौ २७ गते निर्वाचन घोषणा हुँदा असोज महिनाभरि राजनीतिक दलहरूबीच मात्र होइन, दलभित्रै पनि संवादको अवस्था नरहेको उनले बताए ।
