राजदूत कुनै सामान्य जागिरे सेवा होइन : भीम रावल

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले खुला विज्ञापनद्वारा राजदूत नियुक्त गर्ने नीति सरकारले लिन नहुने बताएका छन्।

रास्वपा नेतृत्वको सरकारले खुला प्रतिस्पर्धाको नाममा विज्ञापनबाट राजदूतहरूको नियुक्ति गर्ने कुरा अगाडि बढाएपछि नेता रावलले त्यसको विपक्षमा धारणा राखेका हुन्।

उनले भनेका छन्, ‘कुनै पनि देशले यस्तो गर्दैन। राजदूत विदेशमा देशको प्रतिनिधित्व गर्ने राजनीति र कूटनीतिमा योग्य तथा राष्ट्रिय हित र सुरक्षालाई आत्मसाथ गर्नसक्ने व्यक्ति हुनुपर्छ। विषय विज्ञताको साथै देशप्रतिको भक्ति र इमानदारी समेत राजदूतका लागि नभै नहुने योग्यता हो। विज्ञापन प्रतिस्पर्धाबाट राजदूत छान्नु पर्ने भए त्यस्तै प्रक्रियाबाट छानिएर सरकारी ओहोदामा तालिम र अनुभव प्राप्त व्यक्तिहरू बाटै राजदूत बनाए भइहाल्छ, छुट्टै विज्ञापन किन गर्नुपर्ने?’

राजदूत कुनै सामान्य जागिरे सेवा नभएको उनको तर्क छ। राज्यले कुनै देश विशेषमा आफ्नो राष्ट्रिय हित, सुरक्षा, व्यापार लगायत अन्तर्राष्ट्रिय सम्बन्धका विशेष पक्षलाई समेत ध्यानमा राखेर उपयुक्त व्यक्तिलाई छनोट गरी सम्बन्धित देशमा राजदूत नियुक्त गर्नुपर्ने बताए।

उनले थपेका छन्, ‘यस्तो संवेदनशील र महत्त्वपूर्ण पक्षतर्फ आँखा चिम्लेर विज्ञापन गरी राजदूत छनोट गर्ने कुरा या त सस्तो लोकप्रियताको लागि हुनुपर्छ या सामान्य जागिर जस्तो हल्का रूपमा लिएको या कुनै क्षेत्रमा रहेका व्यक्ति विशेषलाई राजदूत बनाउने आशय राखिएको हुनुपर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *