काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवसँग नेपाल आयल निगमका नवनियुक्त कार्यकारी निर्देशक नागेन्द्र शाहसँग भेटवार्ता गरेका छन् ।
सपथ ग्रहण तथा पदबहालीपछि मन्त्रालयमा भएको भेटवार्ताका क्रममा मन्त्री यादवले उपभोक्ताले ग्यास अभावका कारण कुनै पनि अवस्थामा सास्ती भोग्न नपर्ने वातावरण बनाउन निर्देशन दिएकी छिन् । अहिले बजारमा देखिएको ग्यास अभाव हल गर्न तत्काल आवश्यक सबै कदम चाल्न निर्देशन समेत दिएकी छिन् ।
भेटका क्रममा मन्त्री यादवले दैलेखमा रहेको प्राकृतिक ग्यासको स्रोतलाई शीघ्र उत्खनन गरी व्यावसायिक उत्पादनमा लैजान पनि भनेकी छिन्। मन्त्रीले भनिन्, ‘स्वदेशी प्राकृतिक स्रोतको अधिकतम उपयोगमार्फत ऊर्जा क्षेत्रमा आत्मनिर्भरता बढाउने सरकारको लक्ष्य छ । यो लक्ष्य पूरा गर्न दैलेखको प्राकृतिक ग्यास परियोजनालाई तीव्र गतिमा अघि बढाउनु ।’
कार्यभार समालेका नवनियुक्त कार्यकारी निर्देशक शाहले मन्त्रीले दिएको निर्देशनलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताए । ग्यास आपूर्ति व्यवस्थापनलाई सहज, संस्थागत सुशासन सुदृढ गर्ने तथा उपभोक्ताको विश्वास कायम राख्ने गरी परिणाममुखी काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
