काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आकस्मिक तथा नियमित बजार अनुगमनका क्रममा काठमाडौंका तीन खाद्य व्यवसायको निरीक्षण गरेको छ। विभागले २०८३ साल भदौ २४ गते गरेको अनुगमनका क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही तथा आवश्यक निर्देशन दिएको जनाएको छ।
विभागका अनुसार बालुवाटारस्थित आकाश फुड्समा म्याद नाघेका आठ बट्टा विना चिनीको लड्डु फेला परेको थियो। उक्त लड्डुमा उत्पादन मिति २७ अगस्ट २०२५ र ‘बेस्ट बिफोर १५ डेज’ उल्लेख गरिएको थियो।
त्यस्तै, पानीपुरीमा प्रयोग हुने आलुको स्टफिङमा अस्वाभाविक गन्ध आएको तथा फ्राइङ तेलको TPM value २३ पाइएको विभागले जनाएको छ।
उक्त व्यवसायलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम रु. ३ लाख जरिवाना गरेको छ। साथै, गन्ध आएको करिब १०० ग्राम आलु तथा उपभोग्य मिति समाप्त भएका आठ प्याकेट लड्डु नष्ट गरिएको विभागले जनाएको छ। व्यवसायीलाई खाद्य स्वच्छता कायम गर्न निर्देशनसमेत दिइएको छ।
यसैगरी, चन्द्रागिरी नगरपालिका–३ स्थित सुजल डेरी प्रालिको नियमित अनुगमन गर्दा उद्योगको सरसफाइ अवस्था सामान्य रहेको, दूध प्रशोधन भइरहेको तथा प्रयोगशाला र कर्मचारीको व्यक्तिगत सरसफाइ सन्तोषजनक रहेको पाइएको छ। विभागले सरसफाइमा विशेष ध्यान दिई नियमित सफाइ गर्न निर्देशन दिँदै थप अनुसन्धानका लागि दूधको नमुना संकलन गरेको छ।
काठमाडौं महानगरपालिका–१३, बाफलस्थित बाजेको डेरी पसलको उजुरी तथा गुनासो सम्बोधनका क्रममा भने सरसफाइ सन्तोषजनक नरहेको पाइएको छ। पसलमा खुला दही तथा दूध बिक्री भइरहेको, घ्यू उत्पादन गर्ने गरेको र फ्रिजमा पूर्ण लेबल विवरण नभएका खाद्य पदार्थसमेत भेटिएको विभागले जनाएको छ।
यद्यपि, उजुरीमा उल्लेख गरिएको विषय स्थलगत अनुगमनका क्रममा फेला नपरेको विभागले जनाएको छ। पसललाई नियमित सरसफाइ गर्न निर्देशन दिइएको छ भने थप अनुसन्धानका लागि दही र दूधको नमुना संकलन गरिएको छ।
विभागका अनुसार उक्त दिन कुल तीनवटा खाद्य व्यवसायको अनुगमन गरिएको थियो। अनुगमन विवरण वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माले सार्वजनिक गरेकी हुन्।
