काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भोटेकोशी बाढीपीडितका लागि पठाउन तयारी अवस्थामा राखिएका राहत खाद्य सामग्रीको निरीक्षण तथा अनुगमन गरेको छ।
विभागका अनुसार २०८३ साल भदौ २५ गते गरिएको अनुगमनका क्रममा राहतका लागि तयारी गरिएका विभिन्न खाद्य सामग्रीको खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम निरीक्षण गरिएको हो।
अनुगमनका क्रममा सामाखुसीस्थित राधा स्वामी सत्सङ्ग, काठमाडौंमा दालमोठ, आलुचिप्स, चाउचाउ, बिस्कुट, चिउरा, मुङ दाल, मुसुरो दाल, रहर दाल, कालो भटमास, मुसुरो गेडा, लोकल जीरा मसिनो चामल, चक्की पिठो, चना गेडा, जीरा चामल, मिक्स दाल, प्रशोधित पिउने पानी, स्प्राइट, आयोडिनयुक्त नुन, सनफ्लावर तेललगायत खाद्य सामग्री राहतका लागि पठाउन तयारी अवस्थामा रहेको पाइएको विभागले जनाएको छ।
उल्लेखित खाद्य सामग्रीमध्ये अधिकांशमा ब्याच नम्बर, उत्पादन वा प्याकेजिङ गर्ने उद्योगको नाम तथा ठेगाना उल्लेख हुनुका साथै उपभोग्य मिति पनि कायम रहेको पाइएको थियो। तर, मिक्स दालको लेबलमा त्यसमा प्रयोग गरिएका सामग्रीको सम्मिश्रणसम्बन्धी विवरण उल्लेख नभएको विभागले जनाएको छ।
मिक्स दालको विषयमा थप अनुसन्धान आवश्यक देखिएकाले उत्पादक वा प्याकिङ गर्ने सम्बन्धित फर्मको अनुगमन गरी आवश्यक कारबाही गर्नुपर्ने विभागले जनाएको छ। साथै, राहत खाद्य सामग्री वितरण गर्दा असल वितरण अभ्यास (Good Distribution Practice) पालना गर्न निर्देशन दिइएको छ।
त्यसैगरी, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, थापाथलीमा गरिएको अनुगमनका क्रममा स्तरोन्नति गरिएको (फोर्टिफाइड) स्टिम जीरा मसिनो चामल, मुसुरो दाल, सूर्यमुखी तेल, आयोडिनयुक्त नुनलगायत खाद्य सामग्री राहतका लागि पठाउन तयारी अवस्थामा रहेको पाइएको थियो।
यी सामग्रीको लेबलमा ब्याच नम्बर, उत्पादन/प्याकेजिङ गर्ने उद्योगको नाम र ठेगाना उल्लेख भएको तथा उपभोग्य मिति समाप्त नभएको पाइएको विभागले जनाएको छ। उक्त सामग्रीको वितरण पनि असल वितरण अभ्यासअनुसार गर्न निर्देशन दिइएको छ।
विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बाल कुमारी शर्माद्वारा २०८३/०५/२६ मा जारी विवरणअनुसार राहत सामग्री राखिएका तीन स्थानमध्ये दुई स्थानको विवरण सार्वजनिक गरिएको छ। अनुगमनको मुख्य उद्देश्य बाढीपीडितलाई वितरण गरिने राहत खाद्य सामग्रीको स्वच्छता र गुणस्तर सुनिश्चित गर्नु रहेको विभागले जनाएको छ।
