काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतको सम्बन्ध हिमाल झैँ अटल र महासागर झैँ विशाल रहेको बताएका छन् । आज समकक्षी नरेन्द्र मोदीसँग भेटवार्तापछि आयोजित पत्रकारसम्मेलनलाई सम्बोधन गर्दै उनले पारस्परिक सम्मान, अटल विश्वास र अटुट सद्भाव नै नेपाल–भारत सम्बन्धको मूल आधारशिला भएको र यस सम्बन्धको केन्द्रमा दुई देशका जनता रहेको धारणा राखे । बालेनले समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन् ।
सम्बोधनको पूर्णपाठ-
भगवान् श्री पशुपतिनाथ, माता जानकी तथा करुणामय मच्छिन्द्रनाथको आशीर्वाद, नेपाली जनताको प्रेम स्नेह र सद्भाव लिएर भारतको राजकीय भ्रमणमा आएको छु । हार्दिक निमन्त्रणा, न्यानो आतिथ्यताका लागि म महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीप्रति हार्दिक आभार प्रकट गर्दछु ।
पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल-भारत सम्बन्धको मूल आधारशिला हो । अतुलनीय यस सम्बन्धको केन्द्र हाम्रो दुई देशका जनता रहेका छन् । नेपाल र भारत बीचको सम्बन्ध हिमाल झैँ अटल, महासागर झैँ विशाल छ । यो यस्तो आत्मीय निकटता हो जसलाई शब्दको सीमिततामा बाँध्न सकिन्न ।
एक विश्वासनीय छिमेकीका रूपमा नेपालमा प्राकृतिक प्रकोप र विपद्का कठिन घडीमा अग्रपङ्क्तिमा रहेर सहयोग गर्दै आएको छ । म भारत सरकार र भारतीय जनताप्रति कृतज्ञता व्यक्त गर्दछु ।
भर्खरै हाम्रो प्रतिनिधिमण्डलस्तरीय वर्ता सम्पन्न भएको छ । शताब्दीयौँ पुरानो ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ र युग सापेक्ष बनाउने उद्देश्यसहित हामीले दुई पक्षीय सम्बन्धका बहुआयामिक पक्षबाट सार्थक र दूरगामी छलफल गरेका छौँ । यस क्रममा नेपाल(भारत सहकार्यका विविध क्षेत्रमा महत्त्वपूर्ण साझेदरी तथा परियोजनाको उद्घाटन एवं शिलान्यास समेत सम्पन्न भएका छन् ।
हामीले आज गरेका समझदारीहरू र अघि बढाइएका परियोजनाहरूको प्रतिफल समृद्धिका रूपमा देखिनुपर्छ । यी ऐतिहासिक उपलब्धिहरूले हाम्रो दुई मुलुकको समृद्ध भविष्यका लिग मिलेर काम गर्न हामीले जोइन्ट भिजन डकुमेन्ट एवं हाम्रा साझा उपलब्धिहरूको संयुक्त प्रेस रिलिजमार्फत जानकारी गराइने छ ।
यस महत्त्वपूर्ण अवसरमा महामहिम नरेन्द्र मोदीज्यूलाई सम्पूर्ण नेपाली जनताको तर्फबाट नेपाल भ्रमणको लागि हार्दिक निमन्त्रणा दिन चाहन्छु । साथै मित्रराष्ट्र भारतका आत्मीय जनता हिमालयको काखमा अवस्थित मुक्तिनाथ भगवान् श्री पशुपतिनाथ, तराइको समथर भूमिमा रहेकी माता जानकी, जीवित देवी कुमारी एवं शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल नेपालको भ्रमणका लागि हार्दिक निमन्त्रणा गर्न चाहन्छु ।
नेपाल र भारत बीचको मित्रता यस्तो होस् जहाँ विश्वास हिमालझैँ होस्, सहकार्य नदी झैँ अविरल बगोस् र दुवै राष्ट्रको समृद्धि हाम्रो साझा आकाश मुनि फक्रियोस् । हामी सबैको जय होस ।
